Listen LIVE

नेपालगञ्जमा कुमालेलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

यदुराज मिश्र/नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का दयाराम कुम्हारलाई यतिबेला माटोका भाँडा बनाउन भ्याइनभ्याइ छ । अरूबेलाभन्दा लगनमा यसको व्यापार बढ्ने भएकोले भ्याइनभ्याइ भएको उनले बताए । 

उनले भने, ‘पहिले बुवाले मात्र बनाउनुहुन्थ्यो । अहिले म पनि सघाउन थालेपछि सजिलो भएको छ ।’ उनले अरूबेला दिनको ३ सय रूपैयाँदेखि पाँच सय रूपैयाँको बेच्न धौ धौ हुने भएपनि अहिले दिनहुँ १ हजारदेखि ५ हजार रूपैयाँसम्मको माटोको भाँडा बेच्दै आएको बताए । उनले भने, ‘माटोको भाँडा बनाउन मेहनत लागे अनुसार अरूबेला आम्दानी न्यून भएपनि लगनमा राम्रो आम्दानी हुँँदै आएकोले अहिले भाँडो बनाउने र बेच्ने चटारो बढेको हो ।’ माटोको भाँडो लगनमा पनि विवाह व्रतबन्धमा बढी बिक्ने गरको उनको भनाइ छ ।

वर्षमा वैशाख, जेठ, असार, मङ्सिर, माघ र फागुन ६ महिना बढी मेहनत गर्ने र राम्रो आम्दानी गर्ने महिना हो । बाँकी ६ महिना सामान्य आम्दानी हुने भएकोले घर खर्च धान्न समस्या हुँदै आएको उनले बताए । 

यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ का समई कुम्हारले माटोको भाँडो बनाएर विक्री गरेको डेढ दशक भयो । नदीबाट चिल्लो माटो ल्याउने, भिजाउने, आवश्यकता अनुसार भाँडा बनाएर सुकाउने अनि आगोमा पोलेपछि भाँडा तयार हुँदै आएको उनले बताए ।

मिहिनेत अनुसार माटोको भाँडाको मूल्य पाइँदैन । लगनमा अनिवार्यले चाहिने सामग्री सेट बनाएर बेच्यो भने सेटको ५ सयदेखि १ हजारसम्ममा बिक्री हुँदै आएको उनले बताए । मिहिनेत गर्यो भने अन्य पेशामा आम्दानी राम्रो हुने भएपनि यो हाम्रो पुर्खौली पेशा निरन्तरता दिनुको महत्व अर्कै रहेको उनले बताए । उनले भने, हाम्रो वडामा अधिकांश माटोको भाँडा बनाउने काममै व्यस्त छौं ।

प्रतिक्रिया