Listen LIVE

विद्युत बक्यौता महसुल : ९५ प्रतिशतभन्दा बढी असुली

खजुरा (बाँके) : नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत महसुल असुली गरेको छ ।

खजुरा उप वितरण केन्द्रका प्रमुख हिरामणी घर्तिमगरका अनुसार गत आर्थिक वर्ष ०८०–०८१ मा खजुरा क्षेत्रका विद्युत महसुल नबुझाउने ग्राहकहरुबाट एक करोड ५६ लाख बढी अर्थात ९५ प्रतिशत भन्दा बढी महसुल असुली गरिएको छ ।

खजुरा उप वितरण केन्द्र अन्तर्गतका विद्युत महसुल नबुझाउने ६९० जना ग्राहकको लाइन काटिएकोमा ६५९ जना ग्राहकबाट एक करोड ५६ लाख आठ हजार ७६२ रुपैयाँ असुली गरिएको प्रमुख घर्तिमगरले जानकारी दिए ।

उनले विद्युत महसुल बाँकी रहेकामध्ये ९५.५० प्रतिशत महसुल असुली गर्न सफल भएको बताए । सो असुली अघिल्लो आर्थिक बर्षको तुलनामा दोब्बर भएको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७९–०८० मा विद्युत महसुल बाँकी रहेका ३०३ जना ग्राहकको लाइन काटिएकोमा २४९ जना ग्राहकबाट ६९ लाख ६८ हजार रुपियाँ मात्र बक्यौता महसुल असुली गरिएको खजुरा उप बितरण केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्षमा भने बिद्युत प्राधिकरणको नेपालगञ्ज वितरण केन्द्र र खजुरा उप बितरण केन्द्र लगायत कोहलपुर वितरण केन्द्रले पनि लामो समयदेखि महसुल बाँकी रहेका अधिकांश ग्राहकको लाइन काटेर बक्यौता असुली गर्ने अभियाननै सञ्चालन गरिएको थयो । सोही अभियानका कारण खजुरामा ९५ प्रतिशत भन्दा बढी बक्यौता असुल भएको खजुरा उप वितरण केन्द्रले जनाएको छ ।

खजुरा क्षेत्रको विद्युत सेवालाई नियमित गर्ने, राम्रो भोल्टेज सप्लाइ गर्ने कुनै ठुलै प्राविधिक समस्या नआएसम्म विद्युत सुचारु राख्ने अभियान समेत सञ्चालन गरेर आफूहरुले रातदिन काम गर्दै आएको खजुरा उप वितरण केन्द्रका प्रमुख घर्तिमगरले बताए । 

उनले कुनै पनि ठाउँमा जुनसुकै बेला पनि कुनै खराबीको सुचना पाउना साथ रातदिन नभनि प्राविधिक टोलीले सो स्थानमा पुगेर समस्या समाधान गरेर बिद्युत सुचारु गर्ने गरेको बताए । खजुरा उप वितरण केन्द्र अन्तर्गत १७ हजार भन्दा विद्युतका ग्राहक रहेको सो केन्द्रले जनाएको छ ।

प्रतिक्रिया