नेपालगञ्ज : लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले विपद् व्यवस्थापनमा सबै तहको हातेमालो आवश्यक रहेको बताएका छन् ।
नेपालगञ्जमा आयोजित विपद् व्यवस्थापनका असल अभ्यास तथा प्रयासका सम्बन्धमा गरिएको मिडिया एड्भोकेसी एवम् अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष अर्यालले यस्तो बताएका हुन् ।
'विपद् व्यवस्थापन कुनै एक व्यक्ति वा पक्षले मात्रै गरेर सम्भव हुँदैन, यसमा सबै तहको हातेमालो आवश्यक रहेको छ ।' उपाध्यक्ष अर्यालले भने, 'पारस्थितिकीय र पर्यावरणमैत्री विपद् व्यवस्थापनको मोडेल नै आजको आवश्यकता हो ।'
दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेका असल अभ्यासहरुको आफूहरुले पनि अनुकरण गर्ने बताउँदै आफ्नो पालिकाले गरिरहेका अभ्यासबारे पनि जानकारी गराएका थिए । विष्टले चुरे क्षेत्रमा १० वटा रिचार्ज पोखरी बनाइएको तथा जङ्गल क्षेत्रमा पातपतिङ्गरले आगलागीको जोखिम बढाउने भएकोले ती पातपतिङ्गर सङ्कलन गरी जैविक मल बनाउने योजनाअनुरुप सामुदायिक वनसँग सहकार्य गर्ने कार्य अघि बढाइएको जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपालगञ्जले विपद् व्यवस्थापनको क्षेत्रमा गरेका असल अभ्यास तथा प्रयास तथा थालेका नयाँ अभ्यासहरुबारे चर्चा गरिएको थियो ।
शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले नयाँ अभ्यासको थालनी गरेको जानकारी दिइएको हो । वडा ३ र ७ मा ४०० सामुदायिक विपद् स्वयंसेवक तयार गरिएको तथा वडा ३ र ७ मै आवास बिमा कार्यक्रम लागू गरिएको छ ।
हालसम्म १८४ परिवारको बिमा गरिएको छ । उपमहानगरपालिकाले प्रिमियम आफैँ तिरिदिएर बिमामा प्रेरित गरेको छ । क्षति आकलन गरी राष्ट्रिय बिमा कम्पनीबाट १५ लाखसम्मको बिमा कभर गरिन्छ । पुराना विद्यालय र संरचनाहरुको रेट्रोफिटिङ गरेर भूकम्प प्रतिरोधी बनाइएको छ । आगलागीको जोखिम बढिरहेकोले समुदास्तरमा आगलागी नियन्त्रणका घरेलु उपायबारे कृत्रिम घटना अभ्याससमेत गराइँदै आइएको छ ।
दमकल जान नसक्ने साँघुरा गल्लीहरु तथा ती ठाउँहरुका लागि फायर ब्रिगेड बाइकको व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकाले विपद्को समयमा पनि काम सुचारु गर्ने नीतिअनुरुप व्यवसाय निरन्तरता योजना पनि निर्माण गरेको छ । समय समयमा अन्तरपालिका बैठक गरेर सहकार्य र समन्वयमा पनि अग्रसरता देखाइनुका साथै स्रोतसाधनमा हुन सक्ने सहकार्यबारे पनि छलफल गर्ने गरिएको छ ।
मेयर प्रशान्त विष्टले नेपालगञ्ज पश्चिम क्षेत्रको केन्द्र भएकोले नेपालगञ्जको क्षमता विकास गरी 'विपद् व्यवस्थापन हब'को रुपमा विकास गरिनुपर्ने आवश्यकता औँल्याए । त्यसका लागि उनले लुम्बिनी प्रदेश सरकार र योजना आयोगको पनि ध्यानाकर्षण गराए ।
पत्रकारद्वय रुपा गहतराज र अमृता जैसी (निशु जोशी)ले नेपालगञ्जले विपद् व्यवस्थापनमा गरिरहेको असल अभ्यास र देखिएको स्थलगत अवस्थाबारे आफूहरुले गरेको 'फेलोशीप रिपोटिङ'को प्रस्तुतीकरण गरेकी थिइन् ।
उपमहानगरपालिकाका विपद् फोकल पर्सन प्रशासकीय अधिकृत दिपेन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, फातिमा फाउण्डेशनकी मैमुना सिद्दिकी लगायतले विपद् व्यवस्थापनका क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकामा भइरहेको प्रयासहरु सह्रानीय रहेको बताएका थिए ।
त्यस बिचमा सहभागीहरुले पनि आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बम, उपसचिव गोर्खबहादुर थापा लगायत सरोकारवाला ब्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको आपत्कालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । ज्ञवालीका अनुसार समुदायकै सहभागितामा भूकम्पीय सुरक्षा सचेतनार्थ कृत्रिम घटना अभ्यासहरु पनि हुने गरेका छन् ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद् पूर्वतयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।
सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार