Listen LIVE

योग दिवसमा कोहलपुरमा प्रभातफेरी र अन्तरक्रिया

कोहलपुर (बाँके) : आफु र समाजका लागि योग भन्ने मुल नाराका साथ आज कोहलपुरमा दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । कोहलपुर नगरपालिका आयुर्वेद शाखाको आयोजनामा प्रभातफेरी, अन्तरक्रिया लगायतको कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

कोहलपुरको चौराहबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भागका परिक्रमा गरी नगरपालिकाको सभाहलमा पुगेर अन्तरक्रिया कार्यक्रम गरिएको शाखा प्रमुख उदिप श्रेष्ठले जानकारी दिए । शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न योग उपयोगी रहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिए ।

योग आफैमा भएको शक्ति उजागर गर्ने कला भएकाले यसको बिस्तारमा स्थानीय सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ । पछिल्लो समय बिस्तारै योगको महत्व बढ्दै गएको छ । स्थानीय सरकारले पनि आमसमुदायसम्म योगको बिस्तारका लागि सकारात्मक अभ्यासहरु गर्न थालेका छन् ।

तन, मन र वचन शुद्धताका लागि योगको महत्व रहेकाले आमनागरिकसम्म यसको प्रचार प्रशार र बिस्तार गर्दै लैजानु पर्नेमा नगर प्रमुख आचार्यको जोड थियो ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकको अध्यक्षतामा भएको कार्यक्रममा ओसो केन्द्रका प्रमुख रविन कुमार शर्मा, कोहलपुर जेसिसका अध्यक्ष राजकुमार पौडेल, महिला पतञ्जलीका अध्यक्ष कमला पौडेल लगायतले बोलेका थिए । शाखा प्रमुख उदिप श्रेष्ठको स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन कविराज निरीक्षक गौरी शंकर मण्डलले गरेका थिए ।

प्रतिक्रिया