Listen LIVE

विभिन्न ठाउँबाट लागुऔषधसहित पाँच जना पक्राउ

नेपालगञ्ज डेस्क : बर्दियाको गुलरिया नगरपालिका ८ बाट अफिम कारोबारमा संलग्न ३ जना १ किलो ९२६ ग्राम अफिमसहित पक्राउ परेका छन ।

पक्राउ पर्नेहरूमा जाजरकोट बारेकोट गाउँपालिका–४ का ४६ वर्षीय यनबहादुर रावत, सोही स्थानका ४२ वर्षीय लोकेन्द्रबहादुर रोकाय तथा रोल्पा गंगादेवी गाउँपालिका–६ का ४८ वर्षीय केश सिंह केसी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त परिमाणको अफिम सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट भे ९ प ६२९६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच कोहलपुर नगरपालिका–११ थारू गाउँबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले राप्ती सोनारी गाउँपालिका–९ निवासी २० वर्षीय निरज थारूसहित दुई जनालाई ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान गर्ने क्रममा उक्त लागूऔषध कोहलपुर नगरपालिका–११ पिपल चौतारा निवासी १८ वर्षीय एक किशोरले उपलब्ध गराएको खुल्न आएको थियो । त्यसपछि प्रहरीले ती किशोरलाई पनि पक्राउ गरेको छ ।

उनको साथबाट ७ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया