नेपालगञ्ज : चालु आवको असारभित्रै सम्पन्न हुने भनिएको बाँकेको खजुरा गाउँपालिका ४ चल्तुवा र जानकी गाउँपालिका ४ छत्रपुर जोड्ने किरण नाला पुल सम्पन्न गर्नका लागि करिब तीन करोड रुपैयाँ आवश्यक छ । तर चालु आवमा ५० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ ।
यो पुल निर्माण व्यवसायीको ढिलाइ र प्राविधिक कारणले लामो समय निर्माण कार्य रोकिएर केही दिनअघि मात्रै निर्माण कार्य अघि बढेको छ । पिप्रहवा–जयसपुर– साईगाउँ–राधापुर सडक अन्तर्गतको किरण नाला पुल निर्माणका लागि दुई करोड १० लाख रुपियाँ आवश्यक पर्नेमा २० लाख रुपैयाँ मात्रै विनियोजन भएको छ ।
किरण नाला मात्रै नभएर बाँकेका अरुपनि पुलका लागि आवश्यक भन्दा कम बजेट रहेको छ ।
लुम्बिनी प्रदेश सरकारले बाँकेमा निर्माण गरिरहेका आठ वटा पुलमा कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय नेपालगञ्जका अनुसार लागत भन्दा कम बजेट विनियोजन गरिएका कारण निर्माण व्यवसायीलाई छिटो काम गर्न ताकेता गर्न समेत समस्या देखिएको छ ।
सडक पूर्वाधार कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्का अनुसार जेठी नाला बनखेत पुलका लागि चालु आवमा ५० लाख बजेट रहेकोमा ३७ लाख ८२ हजार थप बजेट आवश्यक छ । यसै गरी खजुरा चार सिर्जना टोलस्थित किरण नालामा निर्माणाधीन पुलका लागि एक करोड बजेट रहेकोमा थप ६८ लाख ५८ हजार रुपैयाँ बजेट अभाव देखिएको छ ।
सिमलघारी–गिजरा–उढरापुर सडकको जेठी नाला पुलमा दुई करोड रुपैयाँ बजेट रहेकोमा थप ५८ लाख ३४ हजार रुपैयाँ अपुग देखिएको छ । यसैगरी राप्तीसोनारी ९ अग्र्यानिकदेखि तल्लो खैरेनी जोड्ने सडक पुलमा एक करोड बजेट विनियोजन रहेकोमा एक करोड ६ लाख रुपैयाँ अपुग छ ।
खजुरा ३ गडगैचा नाला पुलमा एक करोड ५० लाख रुपैयाँ बजेट रहेकोमा दुई करोड रुपियाँ अपुग छ । बैजनाथ ४ मा मनमाया चुनाराको घरदेखि बैरहवा जोड्ने सडकमा जेठी नाला पुलमा एक करोड बजेट रहेकोमा एक करोड ३२ लाख रुपैयाँ अपुग छ ।
सडक पूर्वाधार कार्यालय नेपालगञ्जका प्रमुख दीपक खड्काले भने, ‘बाँकेमा प्रदेश सरकारले पुल निर्माणमा प्राथमिकता दिइएको छ, तर अहिले अधिकांश पुलमा विनियोजन भएको रकम अपुग छ ।’ पुलका लागि थप बजेट विनियोजनका लागि मन्त्रालयमा माग गरिएको कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार