जुम्ला : राष्ट्रिय मानव अधिकार आयोग, जुम्लाले जिल्लामा घरेलु तथा यौनजन्य हिंसा डरलाग्दो रूपमा बढ्दै गएको जनाएको छ । आयोगले जिल्ला प्रहरी कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत सरोकारवाला निकायका तथ्यांक विश्लेषण गर्दा हिंसाका घटना उल्लेख्य रूपमा वृद्धि भइरहेको जानकारी दिएको हो ।
पातारासी गाउँपालिकामा आयोजित बहस तथा अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार जिल्लामा ७० वटा घरेलु हिंसा र २९ वटा लैंगिक हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग, जुम्लाका प्रमुख कल्पना आचार्य नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा यौनजन्य हिंसाको अवस्था झनै दर्दनाक रहेको उल्लेख छ । उनका अनुसार महिलालाई होटलमा काम दिने भन्दै ल्याई यौन शोषणमा लगाउने र कुटपिट गर्ने घटनासमेत भेटिएको छ, जसले मानव अधिकारको गम्भीर हनन भइरहेको देखाउँछ ।
प्रतिवेदनअनुसार कर्णालीका महिलाहरूको श्रम सहभागिता ६८ प्रतिशत रहेको छ । तर अधिकांश महिला अनौपचारिक तथा न्यून पारिश्रमिक हुने क्षेत्रमा कार्यरत छन् । साथै अझै पनि महिलाको नाममा जग्गा दर्ता कम रहेको आयोगको अनुसन्धानले देखाएको छ ।
कार्यक्रममा मानव अधिकार, यसका सिद्धान्त, काम–कर्तव्य, अनुसन्धान तथा जिल्लाको अवस्थाबारे प्रस्तुति गरिएको थियो । साथै मानव अधिकार र महिला अधिकारका विषयमा समेत छलफल भएको थियो ।
पातारासी–४ निवासी लाउरीमाया थामीले यस्तो कार्यक्रमले महिला तथा मानव अधिकारबारे थप ज्ञान प्राप्त भएको बताइन् ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले कर्णाली क्षेत्रमा मानव अधिकारका सवाल महत्वपूर्ण भएकाले आयोगको भूमिका अत्यन्त आवश्यक रहेको बताए । उनले जुम्लामा मानव अधिकार आयोगको कार्यालय पुनः सञ्चालनमा आएसँगै अधिकार प्रत्याभूतिमा आशा बढेको उल्लेख गरे ।
पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पहिलेको तुलनामा छाउपडी प्रथा घटेको बताउँदै अझै पनि यस्ता सामाजिक कुरीति अन्त्य गर्न स्थानीय तहले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले नागरिकता र जन्मदर्तासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित विभागमा सम्पर्क गरेर सेवा लिन सकिने जानकारी दिए ।
पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले छाउपडी, बालविवाह, बहुविवाहविरुद्धका सचेतनामूलक कार्यक्रम मानव अधिकारसँग प्रत्यक्ष सम्बन्धित रहेको बताइन् । स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले गाउँपालिकाको स्वास्थ्य अवस्थासम्बन्धी तथ्यांक प्रस्तुत गरे ।
अन्तरक्रियामा दिमा आमाघरकी अध्यक्ष तथा पत्रकार दिलमाया शाहीले जघन्य अपराधका घटना नलुकाई पीडितको पक्षमा सबै एकजुट भएर काम गर्नुपर्ने सुझाव दिइन् ।
कार्यक्रममा स्थानीय महिला सञ्जाल, वडाध्यक्षलगायत सरोकारवाला निकायले पनि आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए । मानव अधिकार आयोग जुम्लाले जिल्लाका विभिन्न स्थानमा यस्ता अन्तरक्रिया कार्यक्रममार्फत स्थानीय सरकार र सरोकारवालासँग पैरवी गर्दै आएको जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार