Listen LIVE

सेवासुविधा विस्तार गर्दै टीकापुर अस्पताल

टीकापुर : टीकापुर अस्पतालमा नाक, कान, घाँटीको उपचार सेवा सुरु भएको छ । नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर उज्ज्वल मिश्रबाट टीकापुर अस्पतालमा नाक कान घाँटीको जाँच तथा उपचार सेवा सुरु भएको हो । 

अब नाक, कान घाँटीको सामान्य उपचारका लागि पनि नेपालगञ्ज र धनगढी जानुपर्ने टीकापुर आसपासका नागरिकको समस्या हटेको छ । यससँगै टीकापुर अस्पतालमा विशेषज्ञ सेवाको सङ्ख्या सात पुगेको छ । यहाँ हाडजोर्नी विशेषज्ञ सेवा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, सर्जनद्वारा अप्रेशन सेवा, दन्तरोग सेवा, जनरल फिजिसियन र एनेस्थेसियोलोजिष्टको सेवा उपलब्ध हँुदै आएको छ । 

अस्पतालले सेवाको गुणस्तर पनि बढाएको छ । यहाँ फर्मासिष्टबाट फार्मेसी सेवा, इण्डोस्कोपी, फिजियोथेरापी, हिंसा पीडितका लागि एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत उपचार, परामर्श र कानुनी सेवा दिन थालेको छ । गम्भीर बिरामीका लागि आइसीयू, एचडीयू र बालबालिका लागि एनआइसीयू सेवा पनि सञ्चालनमा ल्याएको छ । 

प्रोटोकल अनुसारको फार्मेसी, मोडुलार अप्रेशन थिएटर, एसीसहितको १५ बेडको आकस्मिक उपचार कक्ष बनेको पनि बनेको छ । सेवा सुदृढ भएपछि स्वास्थ्य विमा गरेका बिरामीको चाप पनि बढेको छ । अस्पतालमा आउने बिरामी मध्ये ७५ प्रतिशत बढी बिमित बिरामी आउने गरेको अस्पतालका व्यवस्थापक सरोज चौधरी बताउँछन् ।

प्रतिक्रिया