Listen LIVE

बाँकेमा रगत अभाव

नेपालगञ्ज : विगत केही समययता रगत अभाव हुँदै आएको बाँके जिल्लामा फेरी एक पटक रगतको अभाव भएको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ ।  

नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको माग धेरै बढी तर सङ्कलन निकै कम हुने गरेकोले फेरि एक पटक रगतको अभाव उत्पन्न भएको बताए ।  

उनले माग बढ्दै गएकोले रक्तदान भएको दिन रगत सहज आपूर्ति हुने र अन्य दिनमा माग पुरा गर्न नसकिने अवस्थाबाट गुज्रिरहेको बताए ।  

पश्चिम नेपालका तीन वटा प्रदेशबाट उपचारका लागि बिरामी आउने प्रमुख अस्पताल बाँके जिल्लामा रहेकोले रगतको माग दिनदिनै बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा रगतको स्टक शून्य रहने गरेकोले निकै समस्या भएको प्रमुख रेग्मीको भनाइ छ ।  

उनले विभिन्न समूहको गरी हाल ४०÷५० पिन्ट भन्दा बढी रगत स्टकमा नरहेको प्रष्ट पार्दै जिल्लाका विभिन्न अस्पतालमा यो भन्दा बढी आवश्यक पर्ने गरेकोले पूरा गर्न नसकिने हुँदा समस्या चर्किने बताए ।  

रक्तदान गर्नेले केन्द्रमा आवश्यक समूहको रगत नरहेमा रक्तदान गर्दा पनि माग गरेको समूहका रगत पाउने अवस्था छैन । त्यसले गर्दा सामाजिक सञ्जालमा पछिल्ला दिनमा रगत समूह उल्लेख गरेर नै रक्तदानको आह्वान गरिएको रक्तसञ्चार केन्द्रले जनाएको छ ।  

त्रैमासिक रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आउनुभएका जनमत अर्द्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले रक्त सञ्चार केन्द्र पुग्दा रगतको अभाव रहेको पाएका बताए ।  

वर्षाको समयमा नियमित रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव हुने गरेको रक्त सञ्चार केन्द्र प्रमुख रेग्मीको भनाइ छ ।  

रगत अभाव हुन नदिन सामाजिक सञ्जालमा रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको केन्द्रले जनाएको छ । नेपालगञ्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।  बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । 

थालेसिमिया, सिकलसेलका बिरामीलाई नियमितरुपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको हो ।  

विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रम गरिरहेको र गर्ने जानकारी दिएकाले केही दिन माग धान्न सकिने केन्द्र प्रमुख रेग्मीको भनाइ छ । मानव धर्म सेवा समाज, जनमत अर्ध साप्ताहिक, खजुराको धौलागिरि विद्यालय, संविधान दिवसमा कर्मचारीहरू, असोज चार गते लायन्स क्लबले रक्तदान गरेको र गर्न लागेको जनाइएको छ ।  

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगञ्ज, कोहलपुर र खजुराका अस्पतालमा रगत उपलब्ध गराउँदै आएको छ । खजुरा र कोहलपुरमा छुट्टै वितरण केन्द्र स्थापित भए पनि नेपालगञ्जबाटै त्यहाँ रगतको आपूर्ति हुने गरेको छ ।

प्रतिक्रिया