Listen LIVE

गुल्मीमा राति ९ बजेपछि मदिरा बिक्रीमा रोक

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीले रातको ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । यस जिल्लामा विगत केही वर्ष यता घटेका अपराधिक घटनाहरुको विश्लेषण गर्दा अधिकांश मदिरा सेवनसँग जोडिएको हुँदा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा एवम् अपराध नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाभर राति ९ बजेपश्चात् मदिराजन्य पदार्थको बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाएको छ । 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विगत केही वर्षयता जिल्लामा घटेका अधिकांश आपराधिक घटनाहरू मदिरा सेवनसँग जोडिएको पाइएको बताए । उनका अनुसार स्थानीय तह लगायत अन्य सरोकारवालाबाट मदिरा नियन्त्रणका लागि अनुरोध भई आएको सन्दर्भमा जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।

'मदिराका कारण समाजमा बढ्दो अपराधलाई रोक्न र शान्ति सुव्यवस्था कायम गर्नका यस्तो निर्णय गरिएको हो ।' प्रमुख जिल्ला अधिकारी गैह्रेले भने, 'नियम उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिनेछ ।' जिल्लास्थित व्यवसायीहरूलाई न्यून गुणस्तरका मदिरा ल्याई बिक्री वितरण नगर्न वा नगराउन आग्रह गरिएको छ । तोकिएको समयपछि मदिरा बिक्री गर्ने वा सेवन गर्ने दुवैलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने बताइएको छ ।

प्रतिक्रिया