Listen LIVE

चाडपर्वका बेला बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै

नेपालगञ्ज : तिहार र छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा कृत्रिम मूल्यवृद्धि र मनपरी बिक्री बढ्दो छ । तर बजार अनुगमन नहुँदा उपभोक्ताहरू ठगिँदै आएका छन् । चाडपर्वको समयमा माग बढ्ने जनाउँदै व्यापारीहरूले मनपरी मूल्य वृद्धि गरेका छन् ।

तर उपभोक्ता अधिकार संरक्षणका लागि जिम्मेवार निकाय भने मौन छन् । बाँके जिल्लामा जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति कार्यालयजस्ता निकायले नियमित अनुगमनको प्रतिबद्धता जनाए पनि व्यवहारमा प्रभावकारी कदम नदेखिएको उपभोक्ताहरूको गुनासो छ ।

नेपालगञ्जमा तरकारी, खाद्यान्न, मिठाई, लत्ताकपडा र सरसामानको मूल्य दैनिक रूपमा बढिरहेको उपभोक्ताहरू बताउँछन् । स्थानीय बासिन्दा र उपभोक्ताहरूले अनुगमनको अभावमा केही व्यापारीहरूले म्याद नाघेका वस्तु समेत बिक्री गरिरहेको गुनासो गरेका छन् । बाँके राप्तीसोनारीकी भजनी थारु भन्छिन्, “चाडपर्व आउँदा हरेक वर्ष यही अवस्था हुन्छ । नत अनुगमन टोली आउँछ, नत मूल्य नियन्त्रण हुन्छ ।

उपभोक्ता मजबुर भएर महँगो सामान किन्न बाध्य हुन्छ ।” यसैबीच बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने बजार अनुगमन भइरहेको दावी गर्छन्। उनका अनुसार विशेष परिस्थितिका कारण विषयगत कार्यालयहरुले अनुगमन टोली बनाएर मिठाई, मासु, तेल, लत्ताकपडा र सरसामानका पसलहरूमा अनुगमन गर्दै आएको दावी गरेका छन् ।

तर उपभोक्ता अधिकारकर्मीहरूले प्रशासनको ढिलासुस्तीमाथि प्रश्न उठाएका छन् । उनीहरूको भनाइमा, चाडपर्वमा मात्रै होइन, वर्षभरि नै नियमित अनुगमन हुनुपर्ने हो ।

उपभोक्ताहरूले तत्काल बजार अनुगमन बढाउन, मूल्य सूची सार्वजनिक गर्न र म्याद नाघेका सामानहरू बजारबाट हटाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।नेपालगन्जमा चहलपहल बढ्दै गए पनि उपभोक्ता अधिकारको संरक्षणमा प्रशासनिक निकाय उदासीन देखिँदा नागरिक असन्तुष्ट भएका छन् । चाडपर्वको भीडभाडमा उपभोक्ता ठगिने क्रम रोक्न तत्काल प्रभावकारी अनुगमनको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया