Listen LIVE

मर्मतको अभावमा जीर्ण बन्दै सीमाको पिल्लर

बर्दिया : नेपाल–भारत सीमालाई छुट्याउन निर्माण गरिएका सीमा पिल्लर लामो समयदेखि मर्मत अभावमा जीर्ण बन्दै गएका छन् । 

विशेष गरी बर्दियाको राजापुर नगरपालिका–७ स्थित शङ्करपुर क्षेत्रमा रहेको दशगजा क्षेत्रको पिल्लर नम्बर ६९९ भत्किएको बर्षौं भए पनि यसको मर्मतसम्भार हुन सकेको छैन ।  स्थानीयका अनुसार उक्त पिल्लर इँटाबाट निर्माण गरिएको थियो तर समयक्रमसँगै इँटा झर्दै जाने र संरचना भत्किँदै गएको छ । 

राजापुरका स्थानीय सागर परियारले सीमा निर्माण गरिएको पिल्लर भत्किँदै गए पनि सम्बन्धित निकायले चासो नदिएको गुनासो गरे । स्थानीय तहका जनप्रतिनिधिले समेत पिल्लर मर्मतका बेवास्ता गरेको उनले बताए । राजापुर नगरपालिकाका प्रमुख दीपेश थारूले गत वर्ष गृह मन्त्रालयलाई सीमा पिल्लर पुनर्निर्माणका लागि अनुरोध गरिएको भए पनि काम अघि नबढेको बताए ।

सशस्त्र सीमा सुरक्षा बल नेपाल नं. ३१ गणका प्रहरी नायब उपरीक्षक मोहनबहादुर केसीले नेपाल–भारत संयुक्त टोलीमार्फत सीमा पिल्लरको मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिए । उनका अनुसार केही क्षेत्रमा मर्मत काम भइरहेको छ भने बर्दियामा आगामी वर्षदेखि पिल्लर मर्मत र नयाँ निर्माणको काम विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया