Listen LIVE

ड्युटी समयमा भेट्दैनन् भेरी अस्पतालका चिकित्सक

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जस्थित भेरी अस्पतालको अनुगमन गरेको छ । 

अनुगमनका क्रममा अस्पतालको ओपिडी र इमरजेन्सी विभागमा ड्युटी समयमा चिकित्सक नभेटिएको, ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको र कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकले समेत नियमित हाजिरी गर्ने नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।  

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीले अस्पतालमा पुगेर अस्पतालले प्रवाह गर्ने स्वास्थ्य उपचार सेवाको बारेमा अनुगमन गरेको हो ।  

अस्पतालबाट पाइने स्वास्थ्य उपचार सेवामा लापरवाही भइरहेको र चिकित्सक ओपिडिमा कम बस्ने गरेको जस्ता गुनासाहरु प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । 

उनले अनुगमनको क्रममा अस्पतालका कर्मचारी, चिकित्सक र अन्य स्वास्थ्यकर्मीले नियमित हाजिरी गर्ने नगरेको पाउनुका साथै अस्पतालको ओपिडी र इमरजेन्सीमा ड्युटीकै समयमा पनि केही चिकित्सक अनुपस्थित रहेको पाइएको बताए । 

अस्पतालमा चिकित्सकको काम गर्ने समयतालिका तयार नभएको पाइएको पनि अनुगमनका क्रममा देखिएको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । अनुुगमन टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीसँग पनि अस्पतालको सेवा प्रवाहबारे छलफल गरेको र देखिएको कमीकमजोरीलाई यथाशिघ्र सच्चाउन निर्देशन दिइएको जनाएको छ । 

अस्पतालको अनुगमनका क्रममा दिउँसो २ बजे अस्पताल ओपिडिमा पुग्दा अधिकांश चिकित्सकहरु बाहिर निस्केको र ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको देखिएको पाइएको अनुगमन टोलीमा रहेका भेरी अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । 

उनले अस्पतालको ओपिडिमा चिकित्सक बस्ने समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म भए पनि २ बजे अधिकांश चिकित्सक आफ्नो कोठामा नभेटिएको बताए । प्रतिक्षामा रहेका बिरामीहरुले दुई घण्टादेखि चिकित्सकलाई कुरिरहेको गुनासो गरेका थिए । 

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपभोक्ता मञ्चका बसन्त गौतम, स्वास्थ्य कार्यालय बाँकेका कृष्णप्रसाद उपाध्याय र जिल्ला प्रशासन कार्यालय बाँकेका नासु दिपशरण बुढाथोकीलगायत पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया