Listen LIVE

लोडसेडिङका कारण मैनबत्ती बालेर काम गर्न बाध्यता

हुम्ला : देश लोडसेडिङमुक्त घोषणा गरिएको भए पनि हिमाली जिल्ला हुम्लामा भने कर्मचारीहरू मैनबत्ती बालेर रातिको समयमा समेत कार्यालयको काम गर्न बाध्य भएका छन्।

सदरमुकाम सिमकोटमा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रले दैनिक धेरै घण्टा लोडसेडिङ गर्ने गरेकाले कार्यालय समयमा गर्न नसकिएका काम रातिको समयमा मैनबत्ती बालेर सम्पन्न गर्नुपर्ने अवस्था आएको हो।

जिल्ला सरकारी वकिल कार्यालयकी सहायक जिल्ला न्यायाधीवक्ता निशा केसीका अनुसार दिनको समयमा विद्युत् आपूर्ति अनियमित हुँदा आवश्यक काम रातिको समयमा गर्नुपर्ने बाध्यता छ।

उनले भने, 'समयले मानिसलाई बाँध्न सक्दैन, पीडितको पीडा घडीको सुईसँग रोकिँदैन। त्यसैले बाध्य भएर मैनबत्ती बालेर भए पनि काम गर्नुपरेको छ।'

बत्तीको समस्या भए पनि सेवा प्रवाह निरन्तर राख्ने उद्देश्यले कार्यालय कहिल्यै बन्द नगर्ने अभ्यास गरिएको उनले बताए।

सिमकोटमा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रका कारण दैनिक १८ देखि २० घण्टासम्म लोडसेडिङ हुने गरेको कर्मचारीले बताएका छन्। त्यसै कारण विभिन्न कार्यालयहरूमा काम प्रभावित भएको छ।

सामाजिक विकास कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहले पनि विद्युत् आपूर्तिमा समस्या हुँदा राति ११ बजेसम्म काम गर्नुपर्ने अवस्था आएको बताए।

उनका अनुसार हिल्दुम विद्युत् वितरण केन्द्रको भर पर्नुपर्दा दैनिक प्रशासनिक काम समेत प्रभावित भइरहेको छ। हालै सम्पन्न एसइई परीक्षाका परीक्षार्थीहरूले समेत अध्ययनका क्रममा मैनबत्तीको सहारा लिनुपरेको स्थानीयले बताएका छन्।

यता हिल्दुम विद्युत् वितरण केन्द्रले भने पानीको स्रोत घटेकाले विद्युत् उत्पादन प्रभावित भएको जनाएको छ। केन्द्रका अनुसार सिमकोटमा नै पर्याप्त आपूर्ति गर्न नसकिएको अवस्थामा गाउँ–गाउँमा लाइन विस्तार गर्दा थप दबाब परेको छ।

प्रतिक्रिया