Listen LIVE

नेपालगञ्ज मेडिकल कलेजमा दोश्रो चरणको आन्दोलन शुरु

नेपालगञ्ज : तलब वृद्धिको माग गर्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएिको केन्द्रीय आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले बताए । 

उनले आन्दोलनरत कर्मचारी र अस्पताल व्यवस्थापनबिच पटकपटक वार्ता भए पनि निष्कर्ष ननिस्कदा आन्दोलनलाई निरन्तरता दिनुपरेको बताए । करिब ६ महिनाअघि नै आफूहरुले मागहरू अस्पताल व्यवस्थापनलाई बुझाएको र सो सम्बन्धमा पटकपटक अस्पताल व्यवस्थापन ताकेता गर्दा पनि बेवास्ता गरिएकोले थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको संयोजक गिरीले बताए । 

कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए । 

सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीकाबिच पटकपटक वार्ता हुँदासमेत अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले मङ्सिर २६ गतेदेखि पहिलो चरणको आन्दोलन शुरु गरिएको थियो । 

पहिलो चरणको आन्दोलनअन्तर्गत कर्मचारीले मङ्सिर २६ देखि २९ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । सोही दिन साँझ नेपालगन्ज, कोहलपुर र चिसापानीमा कर्मचारीले कोण सभा गरेका थिए । ३० गते कालोपट्टीलाई निरन्तरता दिँदै अस्पताल प्रशासन, लेखा र एकेडेमी कार्यालयमा तालाबन्दी गरेका थिए । दोस्रो चरणको कार्यक्रमअन्तर्गत पहिलो चरणका कार्यक्रमलाई निरन्तरता दिँदै सोमवारबाटै प्रशासन, लेखा, नर्सिङ प्रशासन र एकेडेमी प्रशासनलगायतका सम्पूर्ण प्रशासनिक कार्यालयहरूमा तालाबन्दी गरिएको छ । 

पुस ३ र ४ गते आधा दिन ओपीडी र शैक्षिक कार्यक्रमहरू पनि बन्द गर्ने कार्यक्रम रहेको कर्मचारीहरुले बताएका छन् । त्यस्तै, पुस ५ गतेदेखि इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा र शैक्षिक कार्यक्रमहरू पूर्णरूपमा बन्द गर्ने जनाइएको छ । ५ गतेदेखि नै अस्पताल परिसर, कलेज परिसरमा भेला तथा कोणसभा गर्ने कार्यक्रम तय गरिएको छ । वार्ता र सहमतिको ढोकालाई खुला राख्दै कर्मचारीहरूले आन्दोलनका क्रममा कुनै क्षति वा समस्या भए त्यसको जिम्मेवारी अस्पताल व्यवस्थापनले नै लिनुपर्ने जनाएका छन् ।

उता, नेपालगञ्ज मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्माले संस्था घाटामा चहिरहेकाले अहिले नै तलब वृद्धि गर्ने कर्मचारीका माग पूरा गर्न सकिने अवस्था नरहेको बताए । 

मेडिकल कलेजका कर्मचारी आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा असर पर्न थालेको छ । सोमवार र मङ्गलवार प्रशासनमा तालाबन्दी गरिएको र बुधवार ओपिडी बन्द गरिने हुँदा यसबाट बिरामीलाई समस्या हुने देखिएको छ ।  

नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यही मङ्सिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पूर्ण पालना गरिनुपर्ने मेडिकल कलेजका कर्मचारीहरूको माग छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया