Listen LIVE

नरैनापुर गाउँपालिकाको आफ्नै भवनबाट सेवा शुरु

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आजदेखि औपचारिकरूपमा सञ्चालनमा आएको छ । भवन निर्माण सम्पन्न भएसँगै अब गाउँपालिकाका सम्पूर्ण सेवा आफ्नै भवनबाट प्रवाह हुने प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिए ।

दुई वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने भवन निर्माण कम्पनी महालक्ष्मी–जुगल बिल्डर्स जेभीको ढिलासुस्तीका कारण समयमै सञ्चालनमा आउन सकेको थिएन । पटक–पटक म्याद थप हुँदा पनि काम नसकिएपछि गाउँपालिकाले वडा कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको थियो ।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आज भवनको उदघाटन गरेसँगै सेवा प्रवाह आफ्नै भवनबाट सुरु भएको वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले बताए । यसअघि साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदै आएको पालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने उनको भनाइ छ ।

लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ ।

सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार भवनमा पुजापाठ सम्पन्न भइसकेको छ र आज एक कार्यक्रमका बीच औपचारिक उदघाटन गरिएको हो ।

नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ । स्थानीयवासी र जनप्रतिनिधिहरूले पनि यसले पालिकाको सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया