नेपालगञ्ज : महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार सो क्रममा हालसम्म जिल्लामा करिब ७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिसकिएको छ ।
पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गरेर स्वास्थ्य प्रोफाइल बनाउन तालिम प्राप्त स्वास्थ्यकर्मी अहिले जिल्लाका आठ वटै स्थानीय तहका घर घरमा पुगिरहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले बताए । उनले गत वैशाख ३ देखि सुरु गरिएको पारिवारिक स्वास्थ्य विवरण सङ्कलन कार्य चलिरहेको जनाउँदै हालसम्म ६९ हजार ४९६ परिवारको स्वास्थ्य प्रोफाइल तयार भइसकेको बताए ।
तालिमप्राप्त स्वास्थ्यकर्मीले ४० दिन लगाएर जिल्लाका एक लाख २९ हजार २३४ घरधुरीमा पुगेर पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने योजना रहेको जनाउँदै स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जिल्लामा समुदायस्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरेर मोबाइलमार्फत नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी दिने लक्ष्यका साथ स्वास्थ्य प्रोफाइल बनाउने कार्य भइरहेको बताए ।
प्रदेश सरकारको आयोजनामा लुम्बिनी प्रदेशका बाँकेसहित पाल्पा र अर्घाखाँची जिल्लामा पारिवारिक स्वास्थ्य विवरण सङ्कलनको काम भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोहलपुर नगरपालिकाका १३ हजार ९०३, बैजनाथ गाउँपालिकाका ११ हजार १९५, राप्तीसोनारीका ११ हजार १४३, खजुराका आठ हजार २३३, डुडुवाका छ हजार ५५५, नरैनापुरका छ हजार ३३६, नेपालगञ्ज उपमहानगरका छ हजार २५९ र जानकी गाउँपालिकाका पाँच हजार ८७२ परिवारको स्वास्थ्य प्रोफाइल तयार भइसकेको छ ।
स्वास्थ्य कार्यालय बाँकेकी अधिकृत विष्णु श्रेष्ठले घर घरमा पुग्ने स्वास्थ्यकर्मीले घरमुलीको विवरणसहित मुख्य गरी गर्भवती, सुत्केरी र दुई वर्षमुनिका बालबालिकालाई बढी प्राथमिकता दिएर प्रोफाइल तयार गर्ने कार्य गरिरहेको बताइन् । उनले उनीहरूको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने र मातृ तथा शिशु मृत्युदर रोक्ने यो अभियानको मुख्य उद्देश्य रहेको बताइन् ।
अधिकृत श्रेष्ठका अनुसार दुई वर्षमुनिका बालबालिकाको पोषणको अवस्था, खोपको अवस्था, गर्भवतीको स्वास्थ्य परीक्षण, त्यस क्रममा स्वास्थ्य परीक्षण, सुत्केरी र सोपछिको अवस्थामा स्वास्थ्य चेकजाँचलगायतका विषयमा विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।