नेपालगञ्ज : लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १९ दशमलव ६३ प्रतिशत नागरिक बिमाको दायरामा आबद्ध भएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिकले बिमा गरेका छन् ।
नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले नेपालगञ्जमा आयोजना गरेको पत्रकारसँग बिमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा लुम्बिनीको कुल जनसङ्ख्यामध्ये १९ दशमलव ६३ प्रतिशत नागरिक विभिन्न बिमामा आबद्ध भएको, जसमध्ये अधिकांशले जीवन बिमा गरेको र म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बिमा लेखबाहेक जम्मा १४ दशमलव ४५ प्रतिशत नागरिक बिमाको दायरामा आएको बताइएको हो ।
नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक शिवराज बिसीले चालु आर्थिक वर्षको असोज महिनासम्म तीन महिनाको अवधिमा लुम्बिनीमा ८ अर्ब ५३ करोड ६३ लाख ८८ हजार रुपैयाँ बिमा शुल्कबापत सङ्कलन भएको छ । जसमध्ये ७ अर्ब ४३ करोड १७ लाख २२ हजार जीवन बिमा र एक अर्ब १० करोड ४६ लाख ६६ हजार रुपैयाँ निर्जीवन बिमा शुल्कबापत सङ्कलन भएको हो ।
उनले ११ लाख ६०३ जना जीवन बिमा र १ लाख २५ हजार ८३३ जना निर्जीवन गरी कुल १२ लाख २६ हजार ४३६ जना बिमामा आबद्ध भएको बताए । त्यसैगरी जीवन बिमातर्फ ७ हजार ४५८ र निर्जीवनतर्फ ५ हजार २८१ गरी १२ हजार ७३९ जना बीमितले बिमा दाबी भुक्तानी गरेका थिए । जीवन बिमातर्फ १ अर्ब २६ करोड ८० लाख ८३ हजार ६०२ रुपैयाँ र निर्जीवनतर्फ १० अर्ब ७२ करोड ३ लाख ४२ हजार ९९४ गरी कुल ११ अर्ब ९८ करोड ८४ लाख २६ हजार ५९६ रुपैयाँ दाबी भुक्तानी गरिएको उनले जानकारी दिए ।
उनका अनुसार जीवन बिमातर्फ व्यतित बिमालेख सङ्ख्या १ लाख ९१ हजार ३०६ र सरेण्डर बीमालेख सङ्ख्या ३ हजार ६१८ रहेको छ । उनले मुलुकभरको जीवन बिमामा लुम्बिनी प्रदेशको १४.७६ प्रतिशत हिस्सा रहेको जानकारी दिए । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनबाट भएको क्षतिबाट दाबी भुक्तानीका लागि लुम्बिनीमा २५६ वटा निवेदन परेको बताए ।
२५६ वटा बीमितले ४९ करोड ३० लाख ८० हजार रुपैयाँ दाबी भुक्तानी माग गरेकोमा अग्रिम भुक्तानीसमेत गरेर १० करोड ९५ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको उनको भनाइ छ ।
नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख जमुना अर्याल आचार्यले बिमा बारेमा आम सर्वसाधारण नागरिकसम्म पहुँच पुगाउन पत्रकारको महत्वपूर्ण भूमिका हुने हुनाले पत्रकारसँग अन्तरक्रिया छलफल कार्यक्रम गरिएको बताइन् ।
उनले पत्रकारलाई सूचना एवम् समाचारको सङ्कलन र प्रवाहमा बिमा क्षेत्रलाई प्राथमिकता दिन, बिमा सचेतना अभिवृद्धि गर्न योगदान गर्न, बिमित हित संरक्षण गर्न, बिमाप्रति जनविश्वास अभिवृद्धि गर्न, बिमा क्षेत्रका सकारात्मक उपलब्धिको प्रचारप्रसार गर्दै यस क्षेत्रमा गरिनुपर्ने सुधारका लागि सुझाव प्रदान गर्न तथा बिमा क्षेत्रमा हुनसक्ने गलत अभ्यास, प्रवृत्तिलाई रोक्न खबरदारी गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहने बताइन् ।
बिमा नीति तर्जुमा गरी लागू गर्न, नेपाल सरकारको वित्तीय सुधार नीतिअनुरूप बिमालाई गाउँ–गाउँमा पुगाउने कार्यलाई साकार पार्न, स्थानीय सरकारसँग समन्वय गरी बिमाको विकासलाई तीव्ररूपमा अघि बढाउन, नेपाली बिमा बजारको वर्तमान स्थितिको जानकारी गराउन र बिमाको दायरा बढाउन समन्वय गर्ने उद्देश्यसाथ बिमा प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताइन् ।
नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीको नियमन, निरीक्षण, सुपरिवेक्षण गर्ने, न्यून आय भएकाहरुको बिमामा पहुँच वृद्धि गर्ने र लघुबिमाको प्रवर्धन गर्ने, बिमाको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने, बीमित हित संरक्षणसम्बन्धी काम गर्ने तथा बिमा नियामकको हैसियतमा अन्य काम गर्दैआएको कार्यालय प्रमुख आचार्यको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार