Listen LIVE

अङ्गुर खेतीमा सक्रिय भलामी दम्पत्ति

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका– ८, खानीगाउँमा विगत आठ वर्षदेखि अङ्गुर खेती गरिएको छ । स्थानीय प्रकश भलामीको दम्पत्तिले बाख्रापालन, नर्सरीसँगै विगत आठ वर्षदेखि अङ्गुर खेतीमा निकै सक्रियरुपमा लागेका छन् ।

बाख्रा पालन र नर्सरीसँगै अङ्गुर खेतीका लागि उनकी श्रीमती लक्ष्मी भलामीले राम्रो सहयोग गरेकी छन् । आम्दानीसँगै दैनिक जीवनको व्यस्ततालाई बढाउन कृषि खेतीमा जोड दिएको भलामी दम्पत्तिको बुझाइ छ ।

परीक्षण रुपमा भैरहवाबाट अङ्गुरका केही बिरुवा ल्याएर उनले रोपेका थिए । अङ्गुरका बिरुवा रोपेको तीन वर्षपछि फल दिन थालेका ती बिरुवाले अहिले राम्रो उत्पादन दिन थालेका छन् । भलामीले घर वरपर टनेल निर्माण गरेर अङ्गुरसँगै तरकारी खेतीसमेत गर्दै आएका छन् ।

परीक्षणको रुपमा लगाइएको अङ्गुरले राम्रो उत्पादन दिन थालेपछि खुसी लागेको बताए । श्रीमतीको नाममा लक्ष्मी कृषि तथा पशुपन्क्षी फर्म दर्ता गरेर कृषि खेती सुरु गरिएको भलामीले बताए । उनले अहिले ३५–४० केजी अङ्गुर बिक्री गरको बताए । केहि अझै बिक्री गर्न बाँकी रहेको छ । तम्घास बजारमा उत्पादन गरेको अङ्गुर प्रतिकेजी तीन सय रुपैयाँमा बिक्री भइरहेको छ । अर्गानिक, गुलियो र रसिलो भएकाले उपभोक्ताको माग समेत दिन प्रतिदिन बढेको भलामीले बताए ।

उनले अघिल्लो वर्ष ७०–८० किलो अङ्गुर बिक्री भएको बताए । अङ्गुरका लागि आवश्यक तालिम, सीप र प्राविधिक ज्ञानको कमीले यसपालि विगतभन्दा केही उत्पादन घटेको छ । तम्घास आसपासका क्षेत्र व्यावसायिक अङ्गुर खेतीका लागि उपयुक्त देखिन्छन् त्यसबारे राम्रोसँग बुझेर लगानी गरे राम्रै प्रतिफल हात पार्न सकिने बताए ।

आवश्यक प्राविधिक सहयोग, तालिम र बजारीकरणको व्यवस्थाले गुल्मी जिल्लामा अङ्गुर खेतीलाई नयाँ उचाइमा पुर्याउन सक्ने अपेक्षा राखे । उनको यो प्रयास अहिले अन्य स्थानीय किसानहरूका लागि प्रेरणा बन्दै गएको छ ।

प्रतिक्रिया