बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकामा १५ शैयाको नगर अस्पताल सञ्चालनमा आएको छ ।
नगरपालिकाका मेयर तिलकराम लम्सालले एक कार्यक्रमबिच नगरअस्पतालको उद्घाटन गरेका छन् । १२ करोड ८४ लाखको लगानीमा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरमा विशेषज्ञ सेवा दिन सकिने गरी १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ ।
सरकारले केही वर्ष अगाडि हरेक स्थानीय तहमा १५ शैयासम्मको अस्पताल निर्माण गर्ने योजना ल्याएको थियो । सोही अनुरूप २०७८ जेठदेखि नगरअस्पतालको निर्माण शुरु गरिएको थियो । दुई तले अस्पतालको भवन तीन वटा ब्लक रहेका छन् ।
भवनसँगै पार्किङ, क्यान्टिनसमेत निर्माण भएको छ । अस्पतालबाट २४ सै घण्टा आकस्मिक कक्ष, बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय ल्याव, भेन्टिलेटर सहित सर्प दंशको उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार सेवा, आँखा उपचार सेवा समेत सञ्चालनमा ल्याइने भएको छ ।
भवनको उद्घाटन गर्दै मेयर लम्सालले पुरानो भवनदेखि सेवा दिँदा अस्पताल र सेवाग्राहीलाई समस्या भएको हुनाले नयाँ भवनदेखि नयाँ तरिकाले सेवा दिइने बताए । उनले विभिन्न स्थानमा छरिएर रहेका वर्थिङ्ग सेन्टरलाई एम्बुलेन्स सेवा निःशुल्क गरि नगर अस्पतालमा एकीकृत गर्ने योजना रहेको बताए ।
ठाकुरबाबा नगरपालिकाकी उपमेयर बिना भट्टराईले अस्पताललाई व्यवस्थित र स्तरीय बनाउनका लागि नगरपालिका सदैव लागिरहेको बताइन् ।
नगरअस्पतालको आम्दानी र खर्च नगरपालिकाकै मातहतमा रहँदै आएको बताउँदै सुविधा सम्पन्न अस्पतालबाट अब नगरवासीले सेवा पाउने उनले बताइन् ।
ठाकुरबाबा नगरअस्पताल विकास समितिका अध्यक्ष चिरञ्जीवी योगीले अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई समेत सेवा दिइरहेको बताए । हाल अस्पतालमा तीन जना चिकित्सकले सेवा दिइरहेको बताउँदै निकट भविष्यमा एमडिजिपि चिकित्सकसहितको सुविधा दिने योजना रहेको बताए ।
प्रत्येक हप्ताको शनिबार विशेषज्ञ सेवा दिने योजना रहेको छ । हाल अस्पतालमा ४६ जना जनशक्ति छन् । अस्पतालमा ठाकुरबाबा नगर पालिका लगायत विभिन्न छिमेकी नगरपालिकाका दैनिक दुई सय पचास जना बिरामीले सेवा लिइरहेका छन् ।
अस्पताल व्यवस्थापनका लागि केही दिन लाग्ने भएको छ भने अस्पताल आवत जावत गर्नका लागि निःशुल्क आवत जावत गर्ने व्यवस्था मिलाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार