Listen LIVE

खजुरामा बाल संरक्षण गृह सञ्चालनमा

खजुरा (बाँके) : खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बाल संरक्षण गृह सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले 'खजुरा बालसंरक्षण गृह' सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका अध्यक्ष डम्बर विकले भने, 'हरेक बालबालिकाको सपना, शिक्षा, माया र सुरक्षित भविष्यको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हो । यो संरक्षण गृहले बालबालिकालाई केवल आश्रय मात्र दिने छैन, उनीहरूलाई आत्मनिर्भर र असल नागरिक बनाउन शिक्षा र स्वास्थ्यकोसमेत पूर्ण रूपले सुनिश्चित गर्नेछ ।'

उनले बालबालिकाको चौतर्फी विकास र न्यायपूर्ण वातावरणका लागि यो गृह कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । बालसंरक्षण गृहमा बालबालिकाका लागि खाने बस्ने व्यवस्थासँगै उनीहरूको चौतर्फी विकासका लागि विशेष खाका तयार गरिएको छ । गृहमा आश्रित बालबालिकालाई नियमित विद्यालय शिक्षा र नियमित स्वास्थ्य परीक्षणको पनि उचित प्रबन्ध गरिएको गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले बताए ।

'एउटा बच्चा सुरक्षित र शिक्षित हुनु भनेको सिङ्गो समाजको भविष्य सुरक्षित हुनु हो,' उनले भने, 'हामीले यो गृहमा आश्रय मात्र होइन, एउटा असल पारिवारिक वातावरण दिन खोजेका हौँ, यहाँ बालबालिकाले ममता, संस्कार र आत्मनिर्भर बन्ने शिक्षा पाउनेछन् ।' बाल संरक्षण गृहमा खेलकुद र मनोरञ्जने बालबालिकाको मानसिक र शारीरिक विकासका लागि खेलकुद सामग्री र पर्याप्त खुला ठाउँको व्यवस्था छ ।

गृहलाई दिगो, सुरक्षित र भरपर्दो बनाउन र बालबालिकालाई हौसला दिन समाजका हरेक वर्गको साथ, सहयोग र सद्भावको आवश्यकता रहेको उनको भनाइ छ । 'बालबालिकाको मुस्कान नै हाम्रो प्रेरणा हो' भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस संरक्षण गृहमा आश्रित बालबालिकाको उज्यालो भविष्य निर्माणका लागि गाउँपालिकाले नागरिकस्तरबाट पनि साथ, सहयोग र सद्भावको अपेक्षा गरेको छ ।

संरक्षण गृहमा बालबालिकाका लागि बस्न, खान, खेलकुद तथा अनौपचारिक शिक्षाकोसमेत उचित व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । कठिन परिस्थितिबाट गुज्रेर आएका बालबालिकालाई सामान्य जीवनमा फर्काउन स्नेहपूर्ण वातावरण र भविष्यमा आत्मनिर्भर बन्नका लागि सीपमूलक शिक्षाकोसमेत व्यवस्था गर्ने गरी गाउँपालिकाले पूर्वाधार र व्यवस्थापनको जिम्मा लिए पनि यी बालबालिकालाई समाजको मूलधारमा ल्याउन समाजका हरेक वर्गको अपनत्व आवश्यक पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया