Listen LIVE

लगानी आकर्षित गर्न राजनीतिक स्थायित्व आवश्यक

झापा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन् ।

राजनीतिक स्थायित्वविना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने समेत बताए ।

‘कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ,’ उनले भने, ‘ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रिन्छ ?’

झापाको गौरादहमा नेपाली काँग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित बीपी स्मृति भवन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै कोइरालाले सरकार चलाउनभन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायीत्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनुपर्ने बताएका छन् ।

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए । राजनीतिक स्थायीत्वबिना आर्थिक विकास नहुने पनि उनको भनाइ थियो ।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत उनले बताए । संकटको समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको जोड थियो ।

प्रतिक्रिया