नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँस्थित मिनी रङ्गशालामा जारी एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताका लागि एक व्यक्तिले सात लाख नगद सहयोग गरेका छन् ।
वैदेशिक रोजगारीका सिलसिलामा हाल अमेरिकामा रहेका स्थानीय लिलबहादुर थापाले प्रतियोगिता सञ्चालनका लागि व्यक्तिगतरूपमा उक्त रकम सहयोग गरेका हुन् । आयोजक न्यू डाँफे स्पोट्र्स क्लबका अध्यक्ष बालाराम खत्रीले सहयोग रकम प्राप्त भएको जानकारी दिए ।
थापाले आफ्नो पिता स्व. गजबहादुर सिजालीको स्मृतिमा क्लबलाई प्रतियोगिता सञ्चालनका लागि सहयोग गरेको बताए ।
उनले भने, 'गाउँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोली ल्याएर गोल्डकप सञ्चालन गर्नु आफैँमा चुनौतीपूर्ण काम हो । क्लबले गरेको प्रयासमा व्यक्तिगत रूपमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।'
अमेरिकाबाट पठाइएको उक्त रकम थापाका दाजु बालवीर थापा लगायत परिवारका सदस्यहरूले क्लब अध्यक्ष खत्रीलाई हस्तान्तरण गरेका हुन् ।
स्व. गजबहादुर सिजाली न्यू डाँफे स्पोट्र्स क्लबका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो। क्लबको आयोजनामा जारी प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । विजेताले सात लाख र उपविजेताले चार लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि खजुरा गाउँपालिका, लुम्बिनी प्रदेश खेलकुद परिषद्, एमटी एरिना लगायतले आर्थिक सहयोग गरेका छन् ।
थापा १८ वर्षअघि डिभी परेर ३३ वर्षको उमेरमा अमेरिका गएका थिए । उनले हालसम्म करिब १० करोडभन्दा बढी रकम विपन्न समुदायको सहयोगमा खर्च गरिसकेको बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार