नेपालगञ्ज : पश्चिम नेपालको प्रेषण अस्पतालको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जले आफ्नो १३४ औं स्थापना दिवस मनाउँदैछ । अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहका अनुसार अस्पतालले आज एक कार्यक्रमका बीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौंरको प्रमुख आथित्यतामा हुन लागेको वार्षिकोत्सवमा अस्पतालले उत्कृष्ट कर्मचारी सम्मान, आन्तरिक खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई सम्मानलगायतका कार्यक्रम राखिएको जनाइएको छ ।
स्थापनाको १ सय ३३ वर्ष पार गरिसक्दा भेरीले पूर्वाधार विकासमा सुधार गर्दै गएको छ भने सेवा प्रवाहलाई पनि विशिष्टिकृत बनाउँदै लगेको अस्पतालका मेसु डा.प्रकाश थापाले बताए । अस्पतालमा कार्डियाक सेवा सञ्चालनमा छ । क्याथल्याब सहितको सुविधा भएका सीमित अस्पतालभित्र पर्छ, भेरी अस्पताल । एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकरको सेवा अस्पतालले दिइरहेको छ । भेरी अस्पताल नेपालगञ्जले न्यूरो सेवा पनि दिइरहेको छ । महंगो न्यूरो उपचार पनि भेरीमा सुलभ छ ।
भेरीमा करिब चौगुणा कम शुल्कमा न्यूरो सम्बन्धि शल्यक्रिया भइरहेको छ । तर यसलाई थप व्यवस्थित बनाउन भने जरुरी छ । यसैगरी, मेडिसिन, सर्जरी, छाला रोग, अर्थोपेडिकतर्फका बिरामीहरु बाहिर रिफर गर्नुपर्ने अवस्था छैन । कतिपय विशिष्टकृत सेवाका लागि ठाउँको अभाव हुँदा सञ्चालनमा ल्याउन नसकिएको अस्पताल प्रशासन बताउँछ । पछिल्लो वर्षमा अस्पतालमा डायलाइसिस सेवा पनि विस्तार भएको छ । तीन वटा मेसिनबाट दिनमा दुई सिफ्ट सञ्चालन गरेर हप्तामा १८ जनाले सेवा पाइरहेकोमा अहिले ६ वटा मेसिनबाट दिनमा तीन सिफ्ट सञ्चालन गरी हप्तामा ५४ जनाले सेवा पाइरहेका छन् ।
थारु समुदायलाई प्रभावित पारेको सिकलसेल तथा थालेसिमियाका बिरामीलाई चिकित्सकको पूर्जा अनुसार निःशुल्क औषधि उपचार, निःशुल्क आकस्मिक औषधि उपचार, ओसिएमसी निःशुल्क औषधि उपचार र अस्पतालको इन्डोरमा भर्ना भएका बिरामीको लागि कुनै लक्षित वर्गमा नपर्ने तर औषधोपचार गराउन नसक्ने बिरामीहरुलाई समेत सम्बन्धित चिकित्सक र मेसुको सिफारिसमा निःशुल्क औषधि उपचार सेवा अस्पताल फार्मेसीले प्रवाह गर्दै आएको छ । औषधि तथा औषधिजन्य सामग्री एमआरपी मूल्यमा खरिद हेरेर १० देखि ३० प्रतिशत भन्दा बढीसम्म सहुलियत दिएर बिरामीलाई विक्री वितरण गर्ने गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार