Listen LIVE

दाङमा बढ्दै डेङ्गु सङ्क्रमण

दाङ : दाङमा डेङ्गु सङ्क्रमणका बिरामी बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार साउनदेखि भदौ २७ सम्म जिल्लामा १०९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

नियमित पानी पर्न थालेसँगै जिल्लाका १० वटा स्थानीय तहमध्ये सहरी क्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनका अनुसार महिलाभन्दा पुरुषमा धेरै सङ्क्रमण देखिएको छ ।

उनका अनुसार तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल र घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गराउन आएका बिरामीमध्ये दुई महिनाको अवधिमा १०९ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो तर निजी अस्पतालबाट डेङ्गु परीक्षणको तथ्याङ्क नआउने हुँदा सङ्क्रमितको सङ्ख्या बढी नै हुन सक्ने अनुमान छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी निसानदाजु भट्टराईका अनुसार प्रतिष्ठानमा साउनमा एक हजार ४७६ जनाको परीक्षण गर्दा २२ जना र भदौको हालसम्म एक हजार ३१८ जनाको परीक्षण गर्दा ४८ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । भट्टराईका अनुसार २०८० साउनदेखि २०८१ असारसम्म प्रतिष्ठानमा ७६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । 

स्वास्थ्य कार्यालयका फोकल पर्सन चन्दका अनुसारमा पछिल्लो समय जिल्लामा तुलसीपुर र घोराहीको सहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या बढेको छ । सहरी क्षेत्रमा टिनका र रङका खाली डब्बा, सिसी, टायर, गमला, पानी ट्याङ्की जस्ता पानी जम्ने भाँडामा लामखुट्टे बस्ने र त्यसले मानिसलाई टोक्दा डेङ्गुको सङ्क्रमण बढेको छ । घोराही र तुलसीपुरसँगै लमही, भालुबाङ, गढवा, नारायणलगायतका सहरी क्षेत्र डेङ्गुको जोखिममा रहेकाले स्वास्थ्य सावधानी अपनाउन फोकल पर्सन चन्दले आग्रह गरे ।  

उनका अनुसार डेङ्गु सङ्क्रमण बढ्न थालेपछि ‘लामखुट्टेका लार्भा खोजौँ र नष्ट गरौँ’ अभियान जिल्लाका केही स्थानमा चलेको छ । डेङ्गु सङ्क्रमणबाट बच्न स्वास्थ्य कार्यालयसँगै जिल्लाका तुलसीपुर उपमहानगरपालिका, राप्ती गाउँपालिकालगायत स्थानीय तहले पालिकास्तरमा सरसफाइ र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको कार्यालयले जनाएको छ । प्रत्येक घरमा पानीका भाँडा छोपेर राख्ने, पानी जम्न नदिने, लामो बाउला भएका कपडा लगाउने र सुत्दा झुल प्रयोग गर्न आग्रह गरिरहेको फोकल पर्सन चन्दले जानकारी दिए ।

प्रतिक्रिया