Listen LIVE

बाँकेमा केही सरकारी कार्यालयको खर्च शत प्रतिशत

नेपालगञ्ज : बाँकेमा गत आर्थिक वर्ष २०८१/८२ मा बढी विकास बजेट भएका केही सरकारी कार्यालयले करिब शतप्रतिशत खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका लेखापाल हरिकृष्ण महताराका अनुसार गत आवमा दुई अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विकास बजेट रहेको हुलाकी सडक आयोजनाले दुई अर्ब ८९ करोड ५३ लाख रुपैयाँ अर्थात् ९७.२८ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ ।  

यसैगरी सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले ९७.७२ प्रतिशत बजेट खर्च गरेको छ । यो कार्यालयले ६६ करोड ९७ लाख रुपियाँ पुँजीगत बजेटमा ६५ करोड ४४ लाख रुपैयाँ खर्च गरेको छ । 

कार्यालयका अनुसार गत आवमा सिक्टा सिँचाइ आयोजना, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, पुल योजना पश्चिम सेक्टर, डिभिजन सडक कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइले सबैभन्दा बढी खर्च गरेका छन् । 

कार्यालयका अनुसार पुँजीगततर्फ पुल योजना पश्चिम सेक्टरले ९३.०५, सिक्टाले ८९.२३, डिभिजन सडकले ६२.७४, सङ्घीय आयोजनाले ४५.५५ प्रतिशत खर्च गरेका छन् । सङ्घीय कार्यालय तर्फ  ९ अर्ब ४९ करोड अख्तियारी रहेकोमा ८५ .६४ प्रतिशत खर्च भएको छ ।

प्रदेशतर्फ भने पुँजीगतमा तीन अर्ब ६० करोड रुपैयाँ अख्तियारी रहेकोमा एक अर्ब ५६ करोड अर्थात् ६५.६६ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेशका कार्यालयमा पर्यटन डिभिजन कार्यालय ७४.२१ प्रतिशत, भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालयले  ७३.०३ प्रतिशत, सडक पूर्वाधार कार्यालयले  ५८.९६ प्रतिशत, सामाजिक विकास डिभिजन कार्यालयले ६०.७९ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् ।

प्रतिक्रिया