सुर्खेत : कर्णाली प्रदेश आयुर्वेद औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा औषधालयलाई जनशक्ति र आवश्यक पूर्वाधार निर्माण गरेर अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।
नागरिकलाई निरोगी बनाउन स्वस्थ जीवनशैली, आहारविहार, योग, ध्यान, व्यायाम प्रवर्धन गर्न आयुर्वेद सेवालाई प्रभावकारी बनाउन लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ दरबन्दी र भौतिक संरचना निर्माण गरेर औषधालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न लागिएको मन्त्रालयका प्रवक्ता वृषबहादुर शाहीले बताए ।
प्रदेश आयुर्वेद औषधालयमा पछिल्लो समय सेवाग्राही बढ्दै गएका छन् । सरकारले सेवा प्रभावकारी बनाउन आवश्यक संरचना निर्माणको कामसमेत गरिरहेको छ । दरबन्दी थप र आवश्यक पूर्वाधार निर्माण गरेर औषधालयलाई आयुर्वेद केन्द्रका रूपमा विकास गर्न लागिएको औषधालयका प्रमुख डा. शङ्करप्रसाद रिजालले बताए । उनका अनुसार एकीकृत रूपमा आयुर्वेद सेवा दिन लागिएको छ ।
आयुर्वेद चिकित्सा सेवा, आयुर्वेद उपचार कार्य, वैकल्पिक उपचार र आयुर्वेद औषधी उत्पादनको काम एकै ठाउँबाट सुरु गर्न लागिएको हो । अहिले आयुर्वेद औषधालय सुर्खेतबाट उपचार सेवा मात्र प्रवाह भइरहेको छ । थप सेवा विस्तार गरेर आयुर्वेद केन्द्रका रूपमा विकास गर्न लागिएको उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार