Listen LIVE

बर्दियाको जब्दीघाटमा पुल निर्माण अलपत्र

बर्दिया : सरकारले बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ११ करोड रकम विनियोजन गरेपनि पुल निर्माण सुरु नहुँदा स्थानीय चिन्तित भएका छन् । 

बजेट विनियोजन भएपनि बारबर्दिया नगरपालिका र सदरमुकाम गुलरिया जोड्ने जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छैन । अघिल्लो आर्थिक वर्षको पुस अन्तिम सातामा बजेट सुनिश्चितता भएपनि सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले समयमा इस्ट्याण्डर्ड विडिङ्ग डकुमेन्ट नबनाएको हुनाले निर्माण प्रक्रिया अगाडि बढेको थिएन । चालु आर्थिक वर्षमा पुनः बजेटको स्रोत सहमति लिनुपर्ने र हाल सम्म स्रोत सहमति नभएको हुनाले पुल निर्माण कार्य अगाडि बढेको छैन । 

अघिल्लो आर्थिक वर्षमा बजेट सुनिश्चितता हुँदा समेत ठेक्का खुल्न नसकेको कारणले यस वर्ष फेरी बहुवर्षे बजेट सुनिश्चिता लिनुपर्ने हुन्छ । गत वर्ष नै बनेको इस्ट्याण्डर्ड विडिङ्ग डकुमेन्टलाई पुनः बजेट सुनिश्चितताको लागि फाइल अगाडि बढाएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । बहुवर्षे स्रोत सहमतिको लागि विभागबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै राष्ट्रिय योजना आयोगमा फाइल पुगेको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए । 

योजना आयोगले फाइल स्विकृत गरेपछि अर्थमन्त्रालयले बजेट सुनिश्चितताका लागि फाइल स्विकृत गर्नुपर्ने हुन्छ । उनले भने, “गत असोजदेखि फाइल अगाडि बढाएको हो आशा गरौँ छिट्टै स्रोत सहमति हुने छ । स्रोत सहमति आउना साथ पुल डिजाइन र निर्माणका लागि तत्कालै ठेक्का गर्ने छौँ ।” 

गत आर्थिक वर्षमा पुल ठेक्का खोल्न सकिएको भए हाल डिजाइन र निर्माण सुरु हुने थियो । पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रकम लाग्ने अनुमान गरिएको छ । गत बर्ष सरकारले एक करोड रकम पुल निर्माणका लागि विनियोजन गरेको थियो । 

जब्दीघाट पुल निर्माणका लागि बजेट आएपनि निर्माण प्रक्रिया सुरु नहुँदा बर्दियाबासीहरू निराश भएका छन् । बजेट सुनिश्चितता भएपछि पुलको काम सुरु हुन्छ भन्ने सोचेको थिएँ बारबर्दिया नगरपालिका वडा ५ का वडाध्यक्ष लालबहादुर चौधरीले बताए । पुल नहुँदा २० मिनेटको बाटो जोखिमपुर्ण रुपमा डुङ्गा तर्दा डेढ घण्टासम्म लाग्ने गरेको उनले बताए । 

पक्की पुल नहुँदा जब्दीघाट भएर आवत जावत गर्ने बर्दियाबासीहरू मर्कामा परेको बारबर्दिया नगरपालिका वडा ७ घुस्राका अतिराम चौधरीले बताए । चारपाङ्ग्रे सवारी साधनलाई करिब ३० किलोमिटर दुरी पार गर्नु पर्ने उनले बताए ।

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भइ हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिएपनि जोखिम मोलेर साना सवारीसाधन र मानिसहरू यात्रा गरीरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पूर्णरुपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया