Listen LIVE

अर्गानिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै

अछाम : अछामको मेल्लेख गाउँपालिकाका कृषकहरु अर्गानिक तरकारी उत्पादनमा जुटेका छन् । किसानहरुले रासायनिक, विषादी रहित तरकारी खेती गर्न जोडतोडका साथ लागेका हुन् । 

विषादीको प्रयोगले गर्भवती, बालबालिका र अन्यको स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएपछि कृषकहरु अर्गानिक तरकारी खेतीमा उन्मुख भएका हुन् । कृषकहरुलाई वल्र्ड भिजन इन्टरनेसनल नेपाल र वाक नेपालको संयुक्त साझेदारीमा सञ्चालित एकीकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजनाले अर्गानिक उत्पादनमा जोडेको हो । 

स्याउला तथा गाई, भैँसीको मलमूत्रबाट तयार गरिएको झोलमलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी खेती गरि रहेको मेल्लेख गाउँपालिका ६, षोडशास्थित नवाँघरको सेरा टोलका कृषक प्रेम बहादुर खड्काले बताए । अर्गानिक तरकारी उत्पादन समुहका सदस्य समेत रहेका खड्काले बारीमा काँक्रा बाली, गोलभेडा, आलु, काउली, बन्दा लगायतका तरकारी खेती गरि रहेका छन् । तरकारीलाई विभिन्न किसिमका रोगबाट बचाउन गाईगोरु तथा पशुको मूत्रलाई जैविक विषादीको रुपमा प्रयोग गर्दै आएको उनले बताए ।

जलवायुमैत्री कृषि पाठशाला कक्षा निरन्तर २१ हप्ता सञ्चालन भई समुदायका कृषकहरुले तरकारी खेती लगाउन सामान्य जानेका थिए । तर वाक नेपालले कार्यक्रम सञ्चालन गरि सकेपछि प्राविधिक तरिकाले तरकारी लगाउन जानेका छन् । कृषक पाठशाला मार्फत तालिम पाएपछि विभिन्न किसिमका मौसम तथा बेमौसमी तरकारी उत्पादन गर्न शुरु गरेका हौँ समुहका सदस्य झरना खड्काले बताइन् । 

उनले भनिन, “अहिले आफूमा पनि परिवर्तन आएको छ स्थानीय स्रोत साधनको प्रयोग गरेर तरकारी खेती गर्ने तरकारी खाने बानीको विकाससँगै बालबालिकाहरुलाई पनि तरकारी खुवाउने र बचेको तरकारी श्री षोडशा आधारभूत विद्यालयमा दिवा खाजाको रुपमा तरकारी दिने गरेका छौँ ।’ 

अर्गानिक तरकारी उत्पादन गरेर खाने गरे पछि बालबालिकाको पोषणमा सुधार भएको छ । समुदायका २५ जना महिलाहरुले तरकारी बिक्री गरेको पैसा बालबालिकाको खुत्रुके बचतसँगै सहकारी र बैंकमा पनि बचत गर्दै आएका छन् ।

झरना खड्का जस्तै उक्त समूहमा स्थानीय २५ जना कृषक आवद्ध रहेका छन् । समूहमा आवद्ध सबै कृषकहरुले तरकारी खेती गरि रहेको स्थानीय मनसरा खड्काले बताइन् । उनले भनिन, “कृषकहरुलाई परियोजनाले २१ हप्ता जलवायुमैत्री कृषि पाठशाला मार्फत तालिम प्रदान गरेको छ ।“  योसँगै तरकारीको बिउँ, हेन्डस्प्रे, प्लास्टिक टनेल, क्यारेट, दाँते, रेक, गड्यौला मल, थोपा सिचाई झोलमल तयार पार्ने ड्रम, गाईगोरु तथा पशुको मूत्र संकलन ड्रम तथा प्रविधि सहयोग गरेको छ । परियोजनाले सोही समूहका २५ जना कृषकलाई प्लास्टिक टनेल समेत प्रदान गरेको छ ।

षोडशा जस्तै मेल्लेख गाउँपालिकाको ७ नन्देगडा स्थित हरीयाली तरकारी उत्पादन समुहमा पनि २५ कृषक आवद्ध छन् । समूहमा आवद्ध कृषकहरुले अर्गानिक तरकारी उत्पादन गरि रहेको समूहका सचिव ईश्वरी खड्का महरले बताइन् ।

परियोजना एकीकृत उत्थानशिल जीविकोपार्जन तथा पोषण परियोजना ८ वडाम सञ्चालित छ । समूहमा आवद्ध कृषकहरुलाई झोलमल, बायोचार बनाउन, गडौला मल बनाउन मल्चिङको प्रयोग गर्न, स्थानीय स्रोत साधनको मल्चिङ प्रयोग गर्न बनाउने विधि र प्रयोगका तरिका सिकाईएको परियोजनाका सामाजिक परिचालक दिपिका ओडले बताइन् । उनले भनिन, “परियोजना मार्फत मेल्लेख गाउँपालिका ६ र ७ मा १७ वटा समूह गठन भएका छन् ।“ जसमध्ये २ वटा समुहमा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन गरिएको उनले बताइन् । कृषकहरुलाई तरकारी खेती, बाख्रा पालन, गड्यौला मल बनाउने उत्पादनमा सहयोग गरि रहेको सामाजिक परिचालक ओडले बताइन् ।

परियोजनाले षोडशा र नन्देगडा गरि दुई समुहका ५० जना कृषकलाई तरकारी खेती, समूह अवधारणा, समूहको लेखाजोखा, जलवायु परिवर्तन, सुनौला हजार दिनका आमालाई पोषण सम्बन्धी तालिम प्रदान गरेको परियोजनाका सामाजिक परिचालक ओडले बताइन् । उनले परियोजनामार्फत कृषकहरुलाई अर्गानिक उत्पादनमा जोडेको बताइन् ।

शुरुमा सामान्य तरिकाले तरकारी खेती गर्दै आएका कृषकहरु तालिम पाएपछि बेमौसमी तथा मौसम अनुकूल तरकारी उत्पादनमा प्राविधिक दक्षता हासिल गरेको हरियाली तरकारी उत्पादन समूहका सदस्य मथुरा देवी सार्कीले बताइन् । उनका अनुसार जलवायु मैत्री कृषक पाठशाला पछि कृषकहरुले आफूले उत्पादन गरेका ताजा तरकारीहरु घरमै उपभोग गर्ने गरिएको छ । अहिले हामीहरुले बालबालिकालाई पनि नियमित रुपमा तरकारी खुवाउन थालेका छौँ । उनले भनिन, “अर्गानिक उत्पादनले बालबालिकाको पोषण स्तरमा समेत उल्लेखनीय सुधार ल्याउने जानकारी समेत पाएका छौँ।“

यस्तै, बाँकी रहेका तरकारीहरु स्थानीय श्री पुरानाकोट आधारभूत विद्यालयमा दिवा खाजाको रुपमा प्रदान गरिँदै अई रहेको छ, जसबाट विद्यार्थीहरुलाई पोषणयुक्त भोजन सुनिश्चित गराईएको छ । साथै, तरकारी बिक्रीबाट आएको आम्दानीको केही अंश समुदायका ५० जना महिलाले खुत्रुके बचत, सहकारी र बैंक खातामा पनि पैँसा जम्मा गर्दै आएका छन् ।

परियोजना मेल्लेख गाउँपालिकाका सबै वडामा सञ्चालन गरेको र उक्त क्रियाकलाप बारे गाउँपालिकाका जनप्रतिनिधि, परियोजनाका कर्मचारी सहितको टोलीले समय–समयमा स्थलगत अनुगमन समेत गर्ने गरेको छ ।

उक्त परियोजना सञ्चालन भएको मेल्लेख गाउँपालिका वडा नम्बर ७, नन्देगडाका वडाध्यक्ष प्रेमबहादुर महरले भौगोलिक रुपमा विकट भए पनि पहाडी क्षेत्रमा उत्पादन हुने सबै रैथाने बाली, कृषि बालीहरु उत्पादन हुने बताए । हामी संघ संस्थाले छोडे पनि गाउँमै भएकाले वडाले निरन्तरता दिनेछ यसलाई दिगो रुप लैजाने बताए । 

हाल विभिन्न परियोजनामार्फत अति जोखिममा रहेका अति विपन्न, गरिब र दलित समुदायका घरपरिवारहरुको जीविकोपार्जनको लागि अछाम जिल्लामा काम गर्दै आएको वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवरले बताए ।

प्रतिक्रिया