नेपालगञ्ज : नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा सय रुपैयाँ भन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने प्रावधान कडाइका साथ कार्यान्वयन हुन थालेपछि नेपाली ग्राहकहरू सीमापार किनमेल गर्न जान हच्किएका छन् ।
यसको प्रत्यक्ष असर भारतीय सीमावर्ती बजार रुपईडिहामा देखिएको छ, जहाँ केही दिनयता व्यापार उल्लेख्य रूपमा घट्दै बजार सुनसान जस्तै देखिन थालेको छ ।
सरकारले भन्सार महसुल ऐन, २०८१ को दफा १३ उपदफा (३) अनुसार जेठ १५ गतेदेखि यात्रुले ल्याउने सय रुपैयाँ भन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको थियो । यद्यपि शुरुवाती चरणमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।
हाल भने सशस्त्र प्रहरी बलले माइकिङमार्फत सर्वसाधारणलाई जानकारी गराउँदै भन्सार असुलीमा कडाई गरेको छ । नियमको कडाईपछि सानो परिमाणका सामान किन्न पनि भन्सार तिर्नुपर्ने बाध्यता बढेकाले सीमापार किनमेलमा जाने नेपाली उपभोक्ताको संख्या घटेको स्थानीय व्यवसायीहरू बताउँछन् ।
स्थानीयका अनुसार पहिले दैनिकरूपमा किनमेलका लागि रुपईडिहा पुग्ने भीड उल्लेख्य हुने गरे पनि पछिल्ला दिनमा त्यस्तो चहलपहल देखिन छाडेको छ । यसले सीमावर्ती व्यापारमा प्रत्यक्ष असर पारेको व्यवसायीहरूको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार