नेपालगञ्ज : ठेकेदार कम्पनीको लापरबाही र स्थानीय तहको म्याद थप्ने प्रवृत्तिका कारण बाँके जिल्लाका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन वर्षौँदेखि अलपत्र परेका छन्।
निर्माण सम्पन्न गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवन निर्माण पूरा हुन सकेका छैनन्। ठेकेदारले काम नगरे पनि स्थानीय तहले पटक–पटक म्याद थप्दै जाने कारण भवनहरू झनै अलपत्र परेको जनाइएको छ।
कोहलपुर नगरपालिकाले विसं २०७९ असारमा २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी रु १५ करोड ३८ लाख लागतमा प्रशासनिक भवन निर्माणको जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो। तर सम्झौता अवधि सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन।
ठेकेदारले दिएको निवेदनका आधारमा पटक–पटक म्याद थप गरिएको भए पनि सन्तोषजनक रूपमा काम अगाडि बढ्न नसकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताए।
यस्तै, विसं २०७९ मै निर्माण सम्पन्न गर्नुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि अधुरो अवस्थामा छ। पाँच वर्षअघि रु ४ करोड २२ लाख ८४ हजार ७१० लागतमा सुरु गरिएको भवनको हालसम्म भौतिक प्रगति करिब ८० प्रतिशत मात्र पुगेको छ।
नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवनसमेत अझै प्रयोगमा आउन सकेको छैन। विसं २०७९ असोज ३१ गते महालक्ष्मी–जुगल बिल्डर्स जेभीसँग रु ६ करोड ८० लाख ३१ हजारमा ठेक्का सम्झौता भएको उक्त भवन समयमै सम्पन्न नहुँदा पालिकाले पटक–पटक म्याद थप्दै आएको छ।
भवन निर्माण सम्पन्न नहुँदा सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए।
यता, खजुरा गाउँपालिकाले भने प्रशासनिक भवन निर्माण पूरा नहुँदै निर्माणाधीन भवनबाटै सेवा प्रवाह सुरु गरेको छ। खजुरा गाउँपालिका–३ बीगाउँस्थित निर्माणाधीन भवनबाट सेवा सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए।
उनका अनुसार भवनको अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको छ भने विद्युत्, वाइरिङ, पानी निकासजस्ता प्राविधिक काम अन्तिम चरणमा छन्। उक्त भवन रु ५ करोड ३६ लाख ४ हजार ८१५ लागतमा एम के जुगल जेभीले निर्माण गरिरहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार