Listen LIVE

सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाइँदै

सुर्खेत : सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो । 

अब भने काम अघि बढ्ने देखिएको छ । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण नगर्दा काम गर्न निकै चुनौतीको सामना गर्नु परिरहेको आयोजनाले जनाएको छ । अहिले बनेको नयाँ सरकारसँग ठुलो आशा राखेर काम अघि बढाइएको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताए ।

प्रदेश सरकारसँग पटक–पटक सामान्य पूर्वाधार निर्माणका काम अघि बढाउन भनिएको भए पनि निकै चुनौतीको सामना गर्नुपरिरहेको उनले जानकारी दिए । 

अहिले केही काम गर्ने प्रतिबद्धता गरेकाले निर्माणको काम अघि बढाउन लागिएको उनको भनाइ छ । प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइने जनाइएको छ । 

उद्योग निर्माणका केही कामहरू भने सुरु गरिएको तिमिल्सेनाले बताए । विद्युत, खानेपानी र पहुँच मार्ग लगायतको भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो । प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । 

प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । सोही बमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाउन सहयोग गर्ने बताइएको छ । 

प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दस किलोमिटर सडक निर्माण गर्न लागेको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । दस किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताए । 

उद्योगसम्म पुग्ने दस किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका–७, लखरपाटादेखि मदन भण्डारी राजमार्गको खम्बागाडेसम्म दस किलोमिटर सडक निर्माण गर्न लागिएको हो । 

विस्तृत परियोजना प्रतिवेदन -डिपीआर) अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्भर्ट निर्माण र ग्रावेलसम्मका गर्नेगरी सम्झौता गरेर काम अघि बढाइएको जनाइएको छ । अहिले सडक निर्माणको काम धमाधम रूपमा अघि बढेको छ ।

प्रतिक्रिया