Listen LIVE

माहुरीपालनबाट मासिक एक लाख आम्दानी

दाङ : शिक्षण पेशासँगै माहुरीपालनमा लागेका घोराही उपमहानगरपालिका–१८ गिठेपानी निवासी कृष्णबहादुर डाँगी र जानकी डाँगी दम्पत्तिले मह बिक्री गरेर मासिक एक लाखभन्दा बढि आम्दानी गर्दै आएका छन् । विगत डेढ दशकदेखि माहुरीपालनमा संलग्न डाँगी दम्पत्तिले घोराही–१८ गिठेपानीमै एक सय पाँच घार बढि माहुरी पालेर वार्षिक रूपमा १२ देखि १३ लाखसम्म आम्दानी गर्दै आएका हुन् ।

शिक्षण पेशापछि खाली समयको सदुपयोग गर्ने उद्देश्यले २०६७ सालमा तीन घार सेरेना जातका माहुरी किनेर माहुरीपालन व्यवसायमा जोडिएका थिए । रहरले जोडिएको माहुरीपालन व्यवसाय अहिले डाँगी दम्पत्तिको माहुरीपालन मुख्य आम्दानीको स्रोत बनेको छ ।

घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा बिहान जनसङ्ख्या विषय पढाउँँदै आएका कृष्ण भन्छन, ‘‘बिहान क्यापसमा पढाएपछि दिनभर समय खाली हुने र त्यही समय सदुपयोग गर्ने गरी सुरुमा रहरले तीन घार माहुरी किनेको थिएँ । राम्रो लाग्यो, विस्तारै बढाउँदै गएँ । अहिले शिक्षणभन्दा माहुरीपालन नै मुख्य पेशा भइसकेको छ ।’’

महसँगै माहुरीका घारसमेत बिक्री गर्दै आएका कृष्णले वार्षिक १५ देखि १६ लाख रुपैयाँसम्मको कारोबार हुने र सबै खर्च कटाउँदा १२ देखि १३ लाखसम्म बचत गर्दै आएको बताउँछन् । गतवर्ष १६ लाख रुपैयाँको मह बिक्री गरेका उनले यो वर्ष घार वृद्धि भएको र तोरी, चिउरी समयमै पूmलेकाले मह उत्पादन बढ्ने बताउँछन् ।

एउटा माहुरीको घारबाट वार्षिक २०–२५ किलो मह उत्पादन हुने र त्यस हिसाबले वार्षिकरूपमा करिब ३५–३६ क्वीन्टल मह उत्पादन भए न्यूनतम पाँच सय रुपैयाँ किलोका दरले मह बिक्री गर्दा करिब १८ लाख रुपैयाँसम्मको कारोबार हुने उनको भनाइ छ । माहुरीपालन व्यवसायमा कृष्णलाई श्रीमती जानकीले सहयोग गर्दै आएकी छन् ।

माहुरीको घार रेखदेखसँगै बाहिर चराउन लैजाँदा समस्या हुन थालेपछि कमलाले लामो समय शिक्षण गरेको पेशा छोडेर श्रीमानलाई माहुरीपालनमा सहयोग गर्दै आएको बताउँछिन् । उनले भनिन, ‘‘सुरुमा परिवार दाङमा म रोल्पा बस्दा अप्ठ्यारो भए पनि जागिर छोड्न सकेको थिएनँ तर माहुरीपालनबाट राम्रो आम्दानी हुँदै गएपछि यता पनि हेर्नुपर्ने अवस्था आएको हो, मान्छे राख्नुभन्दा आपूmले जागिर छोडेर श्रीमानसँगै माहुरीपालनमा लागेँ ।’’

उत्पादन भएको मह घरबाटै बिक्री हुने गरेको जानकीको भनाइ छ । मह बिक्रीका लागि टाढा जानुपर्ने अवस्था नरहेको भन्दै जानकीले भनिन, ‘‘मह किन्नका लागि अधिकांश आफैँ घरमा आएर लैजानुहुन्छ । कतिपयले पैसा पठाएर पठाइदिन भन्नुहुन्छ, त्यस्तो अवस्थामा हामीले पनि पठाउने गरेका छौँ ।’’ 

प्राकृतिक एपिकल्चर सेन्टर फार्म दर्ता गरेर मेलिफेरा र सेरेना जातका माहुरी पालन गर्दै आएका छन् । अन्य समयको तुलनामा कात्तिके मह बढी बिक्री हुने उनी बताउँछिन् । माहुरीपालन व्यवसायबाट राम्रो हुँदै गएपछि गतवर्ष प्रधानमन्त्री आधुनिकीरण परियोजना माहुरीजोनको सहयोगमा करिब १५ लाख रुपैयाँको सहलगानीमा मह प्रशोधन उद्योगसमेत स्थापना गरेकी छन् ।

मह प्रशोधन उद्योग नहुँदा मह उत्पादन भए पनि बिक्रीका लागि समस्या हुने भएकाले मह प्रशोधन उद्योग स्थापना गरेको श्रीमती जानकीले बताइन् । मह प्रशोधन उद्योग स्थापनासँगै महलाई लेबलिङ गरेर बजारमा बिक्री गर्न सहज हुनुका साथै महको गुणस्तरमासमेत राम्रो हुने विश्वास छ । मह उत्पादनको राम्रो सम्भावना भएको दाङमा पछिल्लो समयमा माहुरी पाल्ने किसानको सङ्ख्या बढिरहेको छ ।

प्रतिक्रिया