नेपालगञ्ज : नेपालगञ्जको मुटु मानिने धम्बोझी चोकमा अत्याधुनिक सेवा–सुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ विधिवत रूपमा सञ्चालनमा आएको छ । करिव १५ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त होटलले शुक्रबारबाट सेवा सुरु गरेको हो ।
पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगञ्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवम् विशिष्ट पाहुनालाई स्तरीय आतिथ्यता प्रदान गर्ने उद्देश्यले ‘दुईतारे’ मापदण्ड अनुरूप होटल तयार गरिएको युवा उद्यमी एवम् सञ्चालक ऋषिराम कँडेलले बताए । उनका अनुसार होटलमा कुल २७ वटा सुविधा सम्पन्न कोठाहरू रहेका छन्, जसमा बिलासी अनुभवका लागि २ वटा विशेष ‘स्वीट रुम’ उपलब्ध छन् ।
यस्तै सबै कोठाहरूमा एसी र २४ सै घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाको सहजताका लागि ८ जना अट्ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ । पाहुनाको सुविधालाई मध्यनजर गर्दै ई–सेवा लगायतका विभिन्न डिजिटल प्लेट फर्मबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसैगरी सभा सेमिनार र खानपानका लागि होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका छन् । सवारी साधनको सुरक्षाका लागि होटलमा सुरक्षित अन्डरग्राउन्ड पार्किङको व्यवस्था रहेको सञ्चालक कँडेलले बताए ।
नेपालगञ्जको मुख्य केन्द्र धम्बोझी चोकमा अवस्थित होटलले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै यहाँको आर्थिक र पर्यटकीय गतिविधिमा विशेष टेवा पुर्याउने सञ्चालकको विश्वास छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार