Listen LIVE

ठुलो परिमाणमा लागूऔषधसहित बाँकेमा पाँच जना पक्राउ

नेपालगञ्ज : बाँकेको कोहलपुर र बैजनाथ क्षेत्रमा दुई दिनको अन्तरालमा ठुलो परिमाणको लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका–३ सुतैयामा चेकजाँचका क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका–१ घर भई हाल बैजनाथ–२ बस्ने २६ वर्षीय समिर शाही र भारतको बहराइच जिल्ला रुपैडियाका ४३ वर्षीय गोपी निसारलाई पक्राउ गरिएको छ । उनीहरूको साथबाट शुद्ध तौल २८ ग्राम २० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाँके प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसैगरी, कोहलपुर नगरपालिका–११ गोलपार्कबाट दैलेख नारायण नगरपालिका–१ पुरानो बजारकी ३३ वर्षीया मनकुमारी खड्का पक्राउ परेकी छन् । उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । उनलाई अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

उता, कोहलपुर नगरपालिका–६ शिव मन्दिर क्षेत्रमा चेकजाँचका क्रममा स्थानीय २८ वर्षीय कृष्णकुमार थारु र २२ वर्षीय प्रकाश वली पक्राउ परेका छन् । उनीहरूको साथबाट १ ग्राम २६० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

दुई दिनको अवधिमा कोहलपुर र बैजनाथ क्षेत्रमा ब्राउन सुगरसहित पाँच जना पक्राउ परेसँगै लागूऔषध नियन्त्रण अभियानलाई प्रहरीले थप तीव्र बनाएको जनाएको छ । बाँके प्रहरीले लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको र अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया