Listen LIVE

बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा पुनर्भरण पोखरी निर्माण

नेपालगञ्ज : सिक्टा सिँचाइ आयोजनाले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार वटा पुनर्भरण पोखरी निर्माण गरेको छ । सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजनाको सामाजिक सरोकार उत्तरदायित्व अन्तर्गत निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने बैजनाथ गाउँपालिका अन्तर्गतको गाभर क्षेत्रमा पोखरी निर्माण गरिएको बताए । 

पोखरी निर्माणका लागि आयोजनाले चार करोड रुैपयाँ खर्च गरेको जनाउँदै प्रमुख आचार्यले भने, 'गर्मीमा वन्यजन्तुका लागि पानी पिउने पोखरी निर्माण गरिएका छन् । यसले पानी पुनर्भरणको पनि काम गर्ने छ ।' बहुउद्देश्यीय ती कृत्रिम पोखरीमा परम्परागत रूपमा बगेर आउने पानीको निकासलाई जम्मा गरेर व्यवस्थित बाँध बनाइएको छ । जसले वर्षाको पानीलाई संरक्षण गर्नुका साथै बाढी नियन्त्रणमा पनि योगदान दिने आयोजनाले जनाएको छ । 

गाभर भ्याली होमस्टेका सञ्चालक कृष्णलाल चौधरीले हाललाई मानवनिर्मित यी पोखरी भविष्यमा सिमसार क्षेत्र हुँदै परम्परागत तालका रूपमा परिणत हुने ढङ्गबाट पानीको स्रोतसँग जोडिएको बताए । उनले चुरेको फेदीमा बनाइएका यी ठुला कृत्रिम पोखरीबाट भएको पानी पुनर्भरणले नेपालगञ्जसम्मका हातेनलमा पानी सहजरूपमा आउने विश्वास गरिएको बताए । निर्देशक आचार्यले आगामी आर्थिक वर्षका लागि पनि थप पोखरी निर्माणका योजना रहेको जानकारी दिए ।

प्रतिक्रिया