Listen LIVE

राप्तीनदीबाट हुने बाढी र कटानको दीर्घकालीन समाधान माग

नेपालगञ्ज : बाँकेको राप्ती नदी किनारका बस्तीमा बसोवास गर्ने नागरिकले हरेक वर्ष हुने बाढी तथा कटानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गरेका छन् ।

हरेक वर्ष वर्षायाममा राप्ती नदीमा आउने बाढी र तीव्र कटानका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका दर्जनौँ गाउँबस्तीका ठूलो संख्यामा स्थानीय प्रभावित तथा जोखिममा पर्ने गरेका छन् ।

बाँके राप्तीसोनारी–७ का शिवप्रसाद मौर्यले नदीका दुवै किनारमा पक्की तटबन्ध निर्माण गर्न सके बाढी र कटानको जोखिम न्यूनीकरण हुने बताए । उनले विगतमा नदी नियन्त्रणका लागि पर्याप्त बजेट विनियोजन नभएको र काम प्रभावकारी रूपमा नहुँदा समस्या कायमै रहेको उल्लेख गर्दै नयाँ सरकारले जनसुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने माग गरे ।

गत वर्ष …जनताको तटबन्धन कार्यक्रमÚ अन्तर्गत लमहीदेखि राप्तीसोनारी–७, खल्ला झगडिया आसपास क्षेत्रमा पक्की तटबन्ध निर्माण गरिएको थियो । त्यस्तै खल्ला झगडिया र जरैयामा बाँस प्रयोग गरी बेम्बो पाइलिङमार्फत अस्थायी तटबन्ध निर्माण गरी कटान नियन्त्रणको प्रयास गरिएको भएपनि अन्य स्थानमा समस्या यथावत् रहेको स्थानीयको भनाइ छ ।

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले जोखिमयुक्त क्षेत्रमा बलियो तटबन्ध निर्माण गर्नु नै समस्या समाधानको मुख्य उपाय भएको बताए ।

त्यसैगरी नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले राप्ती नदीबाट भइरहेको कटान र डुबानको दीर्घकालीन समाधान खोज्न आवश्यक रहेकोमा जोड दिए ।

राप्ती नदीको तीव्र कटानका कारण राप्तीसोनारी र होलिया आसपासका क्षेत्रमा निर्माण गरिएका अस्थायी माटोका तटबन्ध भत्किने जोखिम बढेपछि गत वर्ष बेम्बो पाइलिङ तथा थप तटबन्धन कार्य गरिएको थियो ।

हाल निरन्तर कटानका कारण राप्तीसोनारीका देउपुरा, पिप्रहवा, खल्ला झगडिया, भवानियापुर, गेदवा, नरैनापुर–६ का सोनवर्षा, कुदरबेटवा, गङ्गापुर, नरैनापुर–५ का भोजपुर, नेवाजी गाउँ तथा डुडुवा–१, खुदवा गाउँलगायतका बस्ती उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया