Listen LIVE

नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी भारतमा निर्यात

नेपालगञ्ज : पश्चिम नेपालको प्रमुख व्यापारिक नाका नेपालगञ्ज नाकाबाट गत आर्थिक वर्षमा विभिन्न तीन वटा देशमा दुई अर्ब ४१ करोड बढीको विभिन्न सामान निर्यात भएको छ । 

नेपालगञ्ज भन्सार कार्यालयबाट प्राप्त भएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्जस्थित जमुनाहा नाकाबाट भारत, म्यानमार र संयुक्त अरब इमिरेटमा दुई अर्ब ४१ करोड ९० लाख ८५ हजार रुपैयाँको निर्यात भएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यो नाकाबाट विभिन्न ६ वटा देशमा दुई अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपैयाँको निर्यात भएकोमा गत आर्थिक वर्षमा थोरै घटेर तीन देशमा मात्रै दुई अर्ब ४१ करोड ९० लाख ८५ हजार रुपियाँको निर्यात भएको बताए । 

अघिल्लो आर्थिक वर्षमा निर्यात गरिएका देश चीन, भियतनाम र पाकिस्तानमा भने गत आर्थिक वर्षमा निर्यात नभएको जनाउँदै उनले भारत, म्यानमार र संयुक्त अरब इमिरेटमा मात्रै निर्यात भएको बताए । 

नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी भारतमा निर्यात भएको छ । गत आर्थिक वर्षमा भारतमा मात्रै दुई अर्ब ४० करोड ४५ लाख आठ हजार रुपैयाँको निर्यात भएको थियो भने संयुक्त अरब इमिरेटमा एक करोड २७ लाख ४६ हजार र म्यानमारमा १८ लाख ३१ हजार रुपैयाँको निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । 

जमुनाहा नाकाबाट निर्यात हुने देशमध्ये भारतमा सबैभन्दा बढी जडीबुटी निर्यात हुने गरेको छ । गत आर्थिक वर्षमा यो नाकाबाट ७५ करोड रुपैयाँको जडीबुटी मात्रै निकासी भएको थियो । 

त्यसपछि भारतमा प्लाइउड निकासी धेरै हुने गरेको छ । गत आर्थिक वर्षमा भारतमा २९ करोड बढीको प्लाइउड निर्यात भएको थियो । सोही प्रकारले ४५ करोडको खयर कत्था, ४३ करोड बढीको खोटो रोजिन, २२ करोडको खयर कच्छ, १० करोडको रिठ्ठा, ११ करोडको तार्पिनको तेल, दुई करोड बढीको बटर नौनी घ्यु, दुई करोड बढीको विभिन्न मसला लगायत भारतमा निकासी भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौती रहेपनि पश्चिम नेपालका व्यवसायीले गत आर्थिक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपैयाँको जडीबुटी निकासी गर्न सफल भएको बताए । 

नेपालगञ्ज कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा उत्पादन भएका जडीबुटीको भण्डारण र विदेश निर्यातका लागि प्रमुख ट्रान्जिट हो । यहाँ हुँदै भारत लगायतका देशमा जडीबुटी निकासी हुँदै आएको छ ।

प्रतिक्रिया