Listen LIVE

बागेश्वरी मिनी म्याराथन भोली नेपालगञ्जमा हुँदै

नेपालगञ्ज : रेडियो बागेश्वरी एफएमले शनिबार मंसिर १ गते “बागेश्वरी रन (मिनी म्याराथन)को आयोजना गर्दैछ । २०६२ असोज २६ गतेदेखि सञ्चालनमा आएको रेडियो बागेश्वरी ९४.६ मेगाहर्ज हाल नेपालगञ्ज–१०, आदर्शनगरस्थित आफ्नै भवनबाट प्रसारण हुँदै आएको छ । आफ्नो २१औं वर्षको सुरुवातलाई स्मरणीय बनाउन रेडियोले “हरियो विकल्प, उज्यालो भोली ‘ग्रीनर च्वाइस ब्राइटर टुमारो’ भन्ने नाराका साथ म्याराथन गर्न लागेको हो ।

रेडियोका कार्यकारी प्रमुख सिद्धार्थ पाण्डेका अनुसार, म्याराथनको मुख्य उद्देश्य व्यवसाय, पर्यटन प्रवर्द्धन, आपसी भातृत्व, र दौड संस्कृतिको विकास गर्नु हो । म्याराथन बिहान ७ः३० बजे नेपालगञ्ज–१०, आदर्शनगर पेट्रोल पम्पबाट सुरु हुनेछ । यो रुटले बी.पी. चौक, धम्बोझी, सेतु विक चौक, त्रिभुवन चौक, हुलाक कार्यालय र शीतलनगर हुँदै पुनः पेट्रोल पम्पमा आएर समापन हुनेछ । समापनपश्चात् प्रत्येकलाई विरुवा समेत वितरण गरिनेछ । 

कार्यक्रममा नेपालगञ्जका उद्योगी, व्यवसायी, विशिष्ट पेशाकर्मी र विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी हुनेछन् । रेस डाइरेक्टर चन्द्र गुरुङका अनुसार, म्याराथनले सामुदायिक सहभागितासँगै स्वस्थ र हरित जीवनशैलीको सन्देश प्रवर्द्धन गर्नेछ ।

रेडियोका स्टेशन प्रमुख शुक्रऋषि चौलागाईंले दिएको जानकारी अनुसार, म्याराथनपश्चात् केही दिनभित्रै “बागेश्वरी सबमिट“ कार्यक्रम पनि आयोजना गरिनेछ, जसमा नेपालगञ्जका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

रेडियो बागेश्वरीले स्थानीय नागरिक अगुवा, व्यवसायिक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधी र समाजसेवीहरूलाई यस म्याराथनमा सहभागी भई “हरियो विकल्प, उज्यालो भोली“ को सन्देश फैलाउन अपील गरेको छ ।

प्रतिक्रिया