Listen LIVE

दाङको राजपुर जोड्ने हुलाकी सडक निर्माणको प्रक्रिया शुरु

नेपालगञ्ज : हुलाकी राजमार्ग निर्देशनालयले बाँकेको राप्ती सोनारी गाउँपालिका–३, नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडक खण्डको निर्माण प्रक्रिया अगाडि बढाएको जनाएको छ । हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले सो खण्डमा सडक निर्माण नगरिए हुलाकी राजमार्ग अधुरै रहने निस्कर्षसहित निर्माणको प्रक्रिया अगाडि बढाइएको बताए ।  

उनले यो खण्डमा निर्माण कार्य अगाडि बढाउन स्रोत सुनिश्चितताका लागि सम्बिन्धित निकायमा फाइल पेस गरी सकिएको जनाउँदै केही समयमै स्रोत सुनिश्चितता हुने र सो पश्चात् ठेक्का व्यवस्थापनको काम अगाडि बढाइने बताए ।   

आयोजनाका अनुसार नारायणपुर–राजपुर सडक खण्ड निर्माण गर्न निर्देशनालयले केही वर्षअघि नै गुरुयोजना (डिपीआर) तयार गरिसकेको थियो । गुरुयोजनाअनुसार यो खण्ड निर्माण गर्न करिब ६ अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।

आयोजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले यो खण्डको करिब ३५ किलोमिटर सडक निर्माणको काम सम्पन्न गर्न करिब चार वर्ष समय लाग्ने जनाउँदै सो सडक खण्डमा करिब १५ वटा पुलनिर्माण गर्नुपर्ने देखिएको बताए । उनले उक्त सडक खण्डको ३५ किमी क्षेत्रमध्ये आधा भन्दा बढी अर्थात् १८ किमी जङ्गल क्षेत्र रहेको पनि बताए । 

प्रमुख भण्डारीले थपे, ‘हाम्रो कार्य क्षेत्रमा हुलाकी सडकको काम लगभग सकिएको छ, तर बाँके र दाङ जिल्लालाई जोड्ने मुख्य सडकको काम रोकिएकोले अब अगाडि बढाइने छ ।’ छोटो दूरी र सहजताका कारण निर्माण सम्पन्न भइसकेको नेपालगञ्जदेखि अगैयासम्मको स्थानमा सर्वसाधारणका सवारी साधनले हुलाकी सडक नै प्रयोग गर्ने गरेको आयोजनाले जनाएको छ । 

दाङको कालाकाटेबाट गढवा हुँदै राजपुर गाउँपालिका कार्यालयको मुख्य प्रशासनिक भवनसम्म सडक निर्माण सम्पन्न भइसकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । त्यस क्षेत्रका कतिपय स्थानमा निर्देशनालयले पुलसमेत बनाइसकेको छ ।  

बाँकेको नारायणपुरबाट दाङको राजपुरसम्मको करिब ३५ किमी खण्डको स्रोत सुनिश्चितता प्राप्त गर्ने अन्तिम अवस्थामा पुगेको हुलाकी सडक निर्देशनालय, आयोजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले बताए । सो सडक खण्डभित्र सडक निर्माण गर्दा रुखबिरुवामा ठुलो क्षति पुग्ने दाबी गर्दै वातावरणविदहरूले अदालतमा मुद्दासमेत दायर गरेको जनाइएको छ ।

प्रतिक्रिया