Listen LIVE

दादुराले जाजरकोटका विद्यालय बन्द

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेसँगै सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् । भेरी नगरपालिका–११ स्थित शिवशङ्कर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुराको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।

भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले सूचना जारी गर्दै वडा नं. ११ भित्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएको जानकारी दिए । प्रकोप प्रभावित कट्टीगाउँबाट पठाइएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रतिवेदनअनुसार चार जनामा दादुरा पुष्टि भएको जनाइएको छ ।

दादुरा पुष्टि भएसँगै सो क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

साथै, उक्त बिदा स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालय बन्द गर्न तथा सोको जानकारी नगरपालिकालाई गराउनसमेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया