Listen LIVE

जानकीमा तीन करोड राजश्व संकलनको लक्ष्य

जानकी (बाँके) : चालु आर्थिक बर्ष २०८०/८१ को लागि बाँकेको जानकी गाउँपालिकाले ३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले आर्थिक बर्षको १० महिना बैशाख मसान्तसम्ममा लक्ष्यको २ करोड १३ लाख ४६ हजार ५ सय २२ रूपैयाँ राजस्व संकलन गरिसकेको छ । जुन लक्ष्यको ७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ ।

अझै २ महिना जेष्ठ र असारमा राजस्व संकलन गर्दा लक्ष्य बराबर राजस्व संकलन हुने जानकी गाउँपालिकाका लेखापाल तथा राजस्व परामर्श समितिका सदस्य सचिव दिपक केसीले बताए । गत आर्थिक बर्ष २०७९/८० मा भने जानकी गाउँपालिकाले लक्ष्यको ७४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । २ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले एक करोड ४९ लाख मात्रै राजस्व संकलन गर्न सकेको समितिका सदस्य सचिव केसीले बताए ।

जानकी गाउँपालिकाले सम्पत्ति कर, व्यवसाय कर, बिज्ञापन कर, घर बहाल कर, घर जग्गा रजिस्टेसन कर, सिफारिस दस्तुर, घर नक्सा पास दस्तुर, लगायतका शिर्षकबाट राजस्व संकलन गर्दै आएको छ । जसमध्ये सबै भन्दा बढी घर जग्गा रजिस्टेशन कर र सिफारिस दस्तुर लगायत्का शिर्षकबाट राजस्व संकलन हुने गरेको जानकी गाउँपालिकाका कम्प्युटर अपरेटर दिपेन्द्र पाण्डेले बताए ।

गाउँपालिकाले घर जग्गा रजिस्टेशन करबाट एक करोड, घर बहाल करबाट १८ लाख ३२ हजार ८ सय ४८, सिफारिस दस्तुरबाट ३८ लाख ४२ हजार ६ सय ४४, सम्पत्ति करबाट २१ लाख २४ हजार २ सय ७, व्यवसाय करबाट १५ लाख ३३ हजार ४ सय रूपैया संकलन गरेको छ ।

जानकी गाउँपालिकाले राजस्व बृद्धि गर्नका लागि संकलन गर्ने प्रक्रियालाई व्यवस्थित गर्दै लगेको छ । व्यवसायिहरूलाई सहज रूपमा व्यवसाय दर्ता गर्न तथा राजस्व बुझाउनका लागि सहज बनाउदै लगेको समितिका सदस्य सचिव केसीले बताए ।

प्रतिक्रिया