जुम्ला : जुम्लाको ऐतिहासिक सिंजा क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय सञ्चालनमा आएको छ । बैंकले बैंकको शाखा सञ्चालनमा ल्याएको हो । सिंजा गाउँपालिकामा आयोजित कार्यक्रममा सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले शाखा कार्यालयको उदघाटन गर्दै सेवा शुभारम्भ गरे ।
सिंजा गाउँपालिका–३ नराकोटमा स्थापना गरिएको शाखाले सिंजासहित हिमा, कनकासुन्दरी तथा आसपासका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य रहेको छ । अब स्थानीयले खाता सञ्चालन, निक्षेप संकलन, कर्जा सुविधा, रेमिट्यान्स तथा विद्युतीय भुक्तानी लगायतका सेवा आफ्नै क्षेत्रमा प्राप्त गर्ने बैंकले जनाएको छ ।
गाउँपालिका अध्यक्ष धितालले बैंकिङ पहुँचको अभावका कारण सिंजा क्षेत्रका नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएको हुँदा पहल भएको बताए । सोही अनुसार शाखा सञ्चालनमा आएको छ । उनले कृषि उत्पादन तथा स्थानीय व्यापारलाई सहज बनाउन शाखा विस्तार महत्वपूर्ण कदम भएको बताए ।
गाउँपालिका उपाध्यक्ष सितली रोकायाले सिंजाका किसानले उत्पादन गरेका स्याउ, सिमी र आलु बिक्रीबाट प्राप्त रकमको कारोबार गर्न सदरमुकाम खलंगासम्म पुग्नुपर्ने अवस्था थियो । अब बैंकको शाखा सञ्चालनमा आएपछि त्यो समस्या अन्त्य हुनेछ । अब बैंक मार्फत वित्तीय पहुँच विस्तार हुनुका साथै सहुलियतपूर्ण कर्जा कार्यक्रमले स्थानीय उद्यमशीलता र स्वरोजगार प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक सिंजा शाखा प्रबन्धक देवराज उपाध्यायका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यसअघि सिंजामा करिब दुई वर्षदेखि काउन्टर सेवा सञ्चालन गर्दै आएको थियो । सेवा विस्तारको आवश्यकतालाई मध्यनजर गर्दै अब उक्त काउन्टरलाई पूर्ण शाखा कार्यालयका रूपमा स्तरोन्नति गरिएको उनले थपे ।
गाउँपालिकाले शाखा विस्तारसँगै राजस्व संकलन, सरकारी भुक्तानी तथा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया थप सहज र प्रभावकारी हुने अपेक्षा गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, महिला समूह, कृषक, व्यवसायी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार