नेपालगञ्ज : डिभिजन सडक कार्यालय नेपालगञ्जले जमुनाहा–नेपालगञ्ज–कोहलपुर–चिसापानी सडक खण्डमा पर्ने सडक सीमाभित्रका अनधिकृत संरचनाहरू हटाउन ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । एक सूचना प्रकाशित गर्दै डिभिजन कार्यालयले कर्णाली राजमार्गको यो खण्डमा सडक सीमा अतिक्रमण गरी बनाइएका घर, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड र निर्माण सामग्री हटाउन निर्देशन दिएको हो ।
डिभिजन कार्यालयका अनुसार जमुनाहादेखि गणेशमान चोकसम्म, कारकाँदो चोकदेखि कोहलपुर बजारको चैनजेसम्म र कोहलपुरदेखि बैजनाथ गाउँपालिकाको चिसापानी बजारसम्म सडकको केन्द्र रेखादेखि दायाँ–बायाँ दुवैतर्फ २५–२५ मिटर तथा गणेशमान चोकदेखि कारकाँदो चोकसम्म र कोहलपुर बजारको बिच खण्डसम्म सडकको केन्द्र रेखादेखि दायाँ बायाँ २१–२१ मिटरको सीमा तोकेको छ ।
सार्वजनिक सडक ऐन २०३१ को दफा ३ क र १९ को प्रावधान अनुसार राष्ट्रिय राजमार्गमा कुनै पनि स्थायी वा अस्थायी संरचना बनाउन पाइँदैन । सडक सीमा अतिक्रमणका कारण दैनिक रूपमा सडक दुर्घटनाहरू बढेको पाइएकाले पहिलो चरणमा यो सडक खण्डलाई व्यवस्थित गर्न लागिएको कार्यालयले जनाएको छ ।
सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित सरोकारवालाले आफै संरचना नहटाएमा सडक विभागले आफ्नै डोजर प्रयोग गरी ती संरचना भत्काउने जनाएको छ । यसरी भत्काउँदा लागेको खर्च समेत सार्वजनिक सडक ऐन २०३१ बमोजिम सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने चेतावनी दिइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार