Listen LIVE

गर्मीसँगै बाँकेमा उखु जुसको व्यापार बढ्यो

यदुराज मिश्र/नेपालगञ्ज : तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् । यस वर्ष त झन् सुक्खा हिउँदको असरस्वरुप गर्मी बढ्ने भन्दै आमनागरिक चिन्तित छन् । तर यहाँका उखुको जुस व्यापारी भने उत्साहित हुँदै बाँकेका चोकचोकमा देखिन थालिसकेका छन् । 

बाँकेको नेपालगञ्ज २२ पुरैनाका सम्शेर अलि बागवान चैत लागेसँगै दैनिकजसो करिब एक क्विन्टल उखु पेलेर जुस बेच्न थालेको र गर्मी बढ्दै जाँदा व्यापार पनि थपिँदै गएको बताउँछन् । “अहिले राम्रो बिक्री छ, कुनैकुनै बेला त ग्राहकको भीड नै लाग्छ”, नेपालगञ्जको कान्तितालको गेटमा व्यापार गर्दै आएका उनले भने, “मध्याह्नपछि जुस खोज्ने बढी हुन्छन् । चैत लागेयता दैनिक करिब एक क्विन्टल उखु पेलेर बेच्ने गरेको छु ।” 

यस्तै नेपालगञ्जको धम्बोजी चोकमा उखु जुसको व्यापार गर्दै आएका रमजान कबडियाले यसको विक्रीबाट राम्रै भइरहेको सुनाए । उखुको जुसको व्यापारबाट महिनामा करिब ३० हजारसम्म कमाइ हुने गरेको उनको भनाइ छ ।

बाँकेका चोकबजार क्षेत्रमा हाल रमजान जस्तै २० जनाभन्दा बढीले यस्तै व्यापार गर्दै आइरकेका छन् । पछिल्ला दुई वर्षदेखि यही काम गरिरहेको बताउने रमजानले ६ जनाको परिवारको लालनपालनसहित मासिक ३० हजारसम्म बचाइने गरेको बताए । आफ्नो ठाउँमा सानो लगानीमा उद्यम शुरु गर्न सकिने भन्दै उनले लगनशिलता भए स्वदेशमै राम्रो आम्दनी गर्न सकिने कुरामा जोड दिए ।

गर्मी बढेसँगै नेपालगञ्जमा मात्र नभएर जिल्लाका खजुरा, कोहलपुरलगायत गाउँपालिकास्तरमा पनि उखुको जुसको व्यापार फस्टाउँदो छ । यस्तो व्यापारमा लागेकाहरू आफ्नो गाउँठाउँभन्दा छिमेकका बजारमा रमाउने गरेका छन् । 

नेपालगञ्जमा उखुको जुसको व्यापार गर्दै आएका शमिम जोलाहले पनि गर्मी बढेसँगै व्यापारसमेत बढ्ेको प्रति खुशी व्यक्त गरे । “उखुको व्यापार राम्रै हुन्छ तर गर्मी बढेपछि झनै माग बढ्छ । गर्मी भोग्दा त समस्या नै हुन्छ तर व्यापार पनि हुने भएकाले हाम्रा लागि त यो अवसरका रूपमा आउँछ । यसबाट हुने कमाईसँगै परिवारसँग बसेर खुशी साट्न पाउँला निकै रमाइलो लाग्छ”, उनले भने । 

यसैगरी ठेला र अटोमा मोटर जडान गरेर गाउँगाउँ व्यापार गर्ने व्यावसी पनि आजभोली प्रशस्तै भेटिन्छन् । रिक्शामा इन्जिन जडान गरेर गाउँगाउँ डुलेर उखुको जुस बेच्दै आएका अनिसले यति बेला आफ्नो व्यवासायबाट सन्तुष्ट छन् ।

ठेलामा मोटर जडान गर्दा दुई लाख जति लगानी गरेमा आफ्नै व्यापार गर्न पाइने भन्दै यसमा लागेका प्रायः सबैजसो व्यापारीहरू खुशी व्यक्त गर्छन् । त्यसैमा उधारोमा उखु किनेर जुसबाट भएको आम्दानीबाट त्यसको मूल्य चुक्ता गर्न पाइने हुँदा पनि यो व्यवसाय थप सहज हुने गरेको छ । 

उखुको रस स्वास्थ्यका लागि पनि गुणकारी र कुनै अखाद्य वस्तुको मिसावट नहुने भएकाले पनि गर्मीयाममा यसको माग बढ्ने गरेको छ । बजारमा पाइने अन्य पेयपदार्थभन्दा उखुको जुस स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने हुँदा तराई मधेसमा उपभोक्ताको रोजाइमा पर्ने गरेको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताए ।

प्रतिक्रिया