Listen LIVE

धनगढीमा पानीको हाहाकार, ट्यांकरबाट वितरण गरिँदै

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पानी सङ्कट बढ्दै गएको छ । सुक्खायाम लम्बिँदा र जलभण्डार क्षेत्र चुरे दोहनका कारण पानी सङ्कट बढ्न थालेको हो । भूमिगत पानीको जलस्रोत सुक्न थालेपछि यहाँका नल्का (चापाकल), बोरिङ, डिप बोरिङमा पनि पानी कम आउन थालेका छन् । 

सुक्खा यामका कारण नल्का नै सुकेपछि खानेपानी समस्या झेल्नु परिरहेको धनगढी उपमहानगरपालिका–८ का नीराजन गिरीले बताए । उनले आफ्नो नल्का सुकेपछि छिमेकीको नल्काबाट पानी बोकेर गुजारा गरिरहेको बताए । उनले भने, 'छिमेकीको नल्कामा अलि अलि पानी आइरहेको त्यहीँबाट बोकेर गुजारा गर्दै आएका छौँ ।' सोही वडाकै विष्णु चौधरीको समस्या पनि उस्तै छ । उनी पानी समस्याले गर्दा दैनिकीनै मुस्किल भएको बताउँछन् । 

मध्य असार हुन लाग्दा पनि यस वर्ष वर्षा भएको छैन । पानी नपरेपछि भूमिगत जलस्रोत धमाधम सुक्दै गएपछि किसानले रोपाइँ गर्न सकिरहेका छैनन् । रोपाइँ गरिएको खेतमा रोपो पनि पानी नपाएर सुक्न थालेको छ । धनगढी उपमहानगरपालिका–१४, स्याउले क्षेत्रमा पानी सङ्कट गहिरिएपछि धनगढी उपमहानगरपालिकाको कार्यालयले ट्याङ्कर र दमकलमार्फत खानेपानी पु¥याउने कार्य गरिरहेको छ । चैतदेखि नै पानी समस्या झेलिरहेकोमा अहिले समस्या झन् बढेको फूलबारीकी उर्मिला पुरीले बताइन् । उनले भनिन, 'पानी आए पनि धमिलो पानी आउँछ । हामीले छानेर पिउने गरेका छौँ । उपमहानगरपालिकाले पानी वितरण गरेको पानीले जसोतसो चलेको छ ।'

२०७९ सालमा भएको एक अध्ययनले धनगढी उपमहानगरपालिकामा पानीको हाहाकार हुन सक्ने निक्र्योल निकालेको थियो । त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डा. मोती रिजालको सो अध्ययनले जथाभाबी वनविनाश, मानवबस्ती निर्माणलगायतका कारणले खानेपानी समस्या निम्तिन सक्ने भन्दै सचेत गराएको थियो ।

प्रतिक्रिया