नेपालगञ्ज : चाडवाडको मौका छोपी नेपालगञ्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका लागि भारतवाट पैठारी गरी भन्सार नाकामा ल्याइएको गुणस्तरहिन चामल भारतमै फिर्ता गरिएको छ ।
चाडबाडको मौका छोपेर स्थानीय ब्यवसायीले नेपालगञ्ज नाका हुँदै भित्र्याएको ८५ हजार केजी चामल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जले परिक्षण गर्दा नेपाल सरकारले चामलको लागि तोकेको अनिवार्य मापदण्ड बमोजिम न्यूनस्तर पाइएकोले भारत तर्फ नै फिर्ता गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण बिभागले जनाएको छ ।
विभागले आयात गर्न नमिल्ने भन्दै नेपालगञ्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोमा उक्त न्यूनस्तर चामलको कन्साइन्मेन्ट निर्यात गर्ने देशमै फिर्ता गरेको व्यहोरा भन्सार कार्यालयले जनाएको विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत भन्सार नाकास्थित १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयहरुले काँकडभित्ता, रानी विराटनगर, जलेश्वर, वीरगन्ज, बेलहिया भैरहवा, कृष्णनगर, नेपालगञ्ज, धनगढी, गट्टाचौकी महेन्द्रनगर, तातोपानी, टिमुरे, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका प्रयोगशालाहरुबाट भन्सार बिन्दुमै खाद्य पदार्थहरुको गुणस्तर परीक्षण तथा नियमन कार्य नियमित रुपमा गर्दै आईरहेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयवाट स्वीकृति लिनुपर्ने र उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयवाट प्रवेश अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।
सो बमोजिम नगरेमा ऐन बमोजिम कारवाही हुने समेत विज्ञप्ति मार्फत विभागले खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराएको छ । विभागको विज्ञप्तिमा गुणस्तरहिन चामल पैठारी गर्ने ब्यापारीको नाम भने उल्लेख गरिएको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार