सल्यान : परम्परागत पानीघट्टलाई परिस्कृत गर्दै बिजुलीबाट चल्ने बनाएर सल्यानका एक युवकले मनग्य आम्दानी गर्दै आएका छन् ।
३३ वर्षिय युवा घनश्याम केसीले जिल्लाको बनगाड कुपिण्डे नगरपालिकास्थित सल्लीबजारमा विद्युतबाट चल्ने पानीघट्ट उत्पादन गर्छन् । त्रिवेणी गाउँपालिका, ३ दांगचुली घर भएका उनले सल्यानका डाँडामा रहेको बस्तीका बासिन्दाहरु कुटानी पिसानी गर्न खोलामा झर्नुपर्ने बाध्यता देखेर विद्युतबाट चल्ने घट्ट बनाएको बताउँछन् ।
विगत केहीवर्षयता उनले उद्योगनै सञ्चालन गरेर पानीविना बिजुलीको माध्यमबाट चल्ने घट्ट उत्पादन तथा बिक्री गर्दै आएका छन् । “पानी कम भएको ठाउँका लागि विद्युतीय घट्ट प्रभावकारी हुन्छ”, घनश्यामले भने । सल्लीबजारमा कालिका इन्जिनियरिङ उद्योग सञ्चालन गरी घट्ट निर्माण गर्दै आएका उनले सुरुमा आफ्नै घरमा सफल परीक्षण गरेपछि उद्योगनै दर्ता गरी निर्माण तथा बिक्री वितरण गर्दै आइरहेको बताए ।
घट्टका लागि मोटर लगायतका उपकरणहरु आवश्यक पर्दछ । अन्न पिस्नका लागि आवश्यक मुख्य जाँतो भने जिल्लाभित्रै उत्पादन हुनेगरेको छ । भारतीय सामग्रीहरु जडान भएको एक थान घट्टलाई ८० हजार तथा चाइजिन सामग्री प्रयोग भएकोलाई ७० हजार रुपैयाँसम्म ढुवानीसहित उपलब्ध गराउने गरेको घनश्यामको भनाइ छ ।
आफूहरु पछिल्लो समय यही उद्योगलाई विस्तारतर्फ लागेको र घट्टबाट नै मुख्य रुपमा आम्दानी गर्दै आएको उनकी श्रीमती शोभा केसीले वार्षिक १५ देखि २० लाख रुपैयाँसम्म आम्दानी हुनेगरेको बताउँछिन् । वर्षमा ४० वटासम्म विद्युतीय घट्ट उत्पादन हुनेगरेको उनको भनाइ छ ।
विद्युतीय घट्टको माग बढ्दै गएपछि बुटवल, सुर्खेतमा पनि कालिका इन्जिनियरिङको सम्पर्क कार्यालय राखिएको छ । पूर्वतिरका जिल्लाहरुबाट पनि विद्युतीय घट्टबारे चासो बढ्न थालेपछि काठमाडौंमा हेर्नका लागि व्यवस्था मिलाइएको युवा उद्यमी घनश्यामले जानकारी दिए ।
पानीघट्टमा पिसेको र विद्युतीय घट्टमा पिसेको अन्नमा कुनै फरक नपर्ने भन्दै उनले पुरानो पानीघट्टलाई आधुनिक घट्टमा विकास गरेको बताए । “विद्युतीय घट्टले एक घण्टामा कोदो २० पाथी, गहुँ १५ पाथी र मकै १० पाथीसम्म पिस्न सकिन्छ”, उनले भने, “पानी घट्टभन्दा विद्युतीय घट्ट निकै सजिलो र पानी पनि नचाहिने भएकाले प्रयोगकर्ताले अन्नपात पिस्न निकै सहज मान्नुभएको छ ।” पानी घट्टका लागि टाढा जानु पर्ने र एकदुई दिन बास बसेर अन्न पिसेर आउनुपर्ने ग्रामीण र विकट क्षेत्रका स्थानीयहरुको बाध्यता हटेको बनगाड कुपिण्डे नगरपालिका–८ का रामबहादुर यरीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार