Listen LIVE

शितलहर बढेसँगै बाँकेमा सिरक डस्नाको व्यापार बढ्यो

नेपालगञ्ज : गत केही दिनयता चलेको शीतलहर र हुस्सुले गर्दा जाडो वृद्धि हुँदै गएपछि नेपालगञ्जमा न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको बिक्री ह्वात्तै बढेको छ । 

चिसो बढेपछि गत एकसाता यता न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाको विक्री बढेको व्यवसायीहरुले बताएका छन् । व्यवसायीका अनुसार नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, न्यूरोड, सेतु विक चोक, बिपी चोक, घरबारी टोल र धम्बोझी चोकमा रहेका न्यानो लुगा, हिटर, कम्बल र सिरक डस्नाका पसलहरुमा ग्राहकको भिड बढेको छ ।

चिसो बढेसँगै ज्याकेट, सुइटर, ट्रयाकसुट, हिटर र कम्बलको माग अत्याधिक बढेको न्युरोडका व्यवसायी सरिफ सिद्दिकीले बताए । स्थानीय ग्राहकहरुसँगै सीमापारि भारतका विभिन्न स्थानहरुबाट आउने ग्राहकहरु समेत ठुलो सङ्ख्यामा न्यानो लुगाको खरिदका लागि आउने गरेकोले विक्री बढेको उनको भनाइ छ । सोही प्रकारले केही दिन पहिलेसम्म ग्राहक कुरेर बस्नुपरेकोमा चिसो बढ्दै जाँदा ग्राहक पनि बढ्दै गएपछि खान खानेसमेत फुर्सत नपाएको बिपी चोकका सिरक डस्ना व्यवसायी नुरुल राईले बताए । 

उनले चिसो बढेसँगै सिरक र डस्ना खरिद गर्नेहरु पनि दिनदिनै बढ्दै गएको हुँदा माग पुरा गर्न भ्याइनभ्याई रहेको बताए । बिपी चोकस्थित चाँद सिरक इन्टरप्राइजेजका सञ्चालक राइले तयारी अवस्थामा रहेका सबै सिरक डस्ना विक्री भैसकेकोले जनशक्ति थपेर सिरक डस्ना तयार गराइरहेको उनले बताए ।  

यसैगरि अहिले केही दिन यता आएर कम्बलको विक्री पनि अत्यधिक बढेको सुर्खेतरोडका कम्बल व्यवसायी दुर्गेश गुप्ताले बताए । उनले चिसो बढ्ने बित्तिकै कम्बलको माग अत्यधिक बढेकोले बिक्री राम्रो भैरहेको बताए । 

जाडो बेला पश्चिम नेपालका अधिकांश पहाडी जिल्लामा समेत अधिकांश न्यानो लुगा तथा सिरक डस्नाहरु नेपालगञ्जबाटै जाने भएकोले अहिले यहाँ ती सामग्रीको माग अत्यधिक बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले चिसोको व्यापार राम्ररी बढेपछि स्थानीय व्यवसायी उत्साहित बनेको बताए । उनले पश्चिमका विभिन्न जिल्लामा नेपालगञ्जबाटै सिरक डस्नालगायत न्यानो लुगाहरु पठाइने गरेकोले पछिल्लो समयमा सो व्यापार बढेको बताए ।

प्रतिक्रिया