Listen LIVE

नेपालगञ्ज भन्सारबाट राजस्व सङ्कलन वृद्धि

नेपालगञ्ज : पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगञ्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष ११ प्रतिशत भन्दा बढी राजस्व सङ्कलनमा वृद्धि भएको छ । नेपालगञ्ज भन्सार कार्यालयका सुचना अधिकारी भन्सार अधिकृत पवित्रकुमार खड्काका अनुसार यस वर्षको माघ महिनासम्म सात महिनाको अवधीमा गत आर्थिक वर्षभन्दा ११ प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको हो ।

सुचना अधिकारी खड्काले गत आर्थिक वर्षको साउनदेखि माघसम्ममा १६ अर्ब २७ करोड ३० लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १० अर्ब ६२ लाख तीन हजार रुपैयाँ अर्थात् लक्ष्यको ६१.४९ प्रतिशत राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १५ अर्ब १५ करोड ३१ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १० अर्ब ९५ करोड ४१ लख ८४ हजार रुपैयाँ अर्थात् लक्ष्यको ७२.२९ प्रतिशत राजस्व सङ्कलन गरिएको सूचना अधिकारी खड्काले बताए ।

उनले चालु आर्थिक वर्षको सात महिनामा गत आर्थिक वर्षको सोही अवधीमा भन्दा ११ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि भएको बताए । नेपालगञज भन्सार कार्यालयका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे दुई लाख रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको उनले बताए ।

चालु आवको साउनमा लक्ष्यको ७४ प्रतिशत, भदौमा लक्ष्यको ६७ प्रतिशत, असोजमा ६७ प्रतिशत, कात्तिकमा ७६ प्रतिशत, मङ्सिरमा पनि ७६ प्रतिशत, पुसमा ७१ प्रतिशत र माघमा ७५ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी खड्काले बताए । उनले एक आर्थिक वर्षमा असुली भएको राजस्वमा अर्को आर्थिक वर्षका लागि १० अर्ब बढी लक्ष्य तोकिनुले पनि लक्ष्य पाउन समस्या हुने गरेको बताए ।

गत आर्थिक वर्षमा २८ अर्ब बढी राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्ब मात्रै सङ्कलन भएपनि चालु आर्थिक वर्षका लागि फेरि २७ अर्ब राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको भन्सार कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार राजस्व सङ्कलन हुने प्रमुख मालवस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बिलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

प्रतिक्रिया